नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट नवलपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तिलबहादुर महत क्षेत्री (तिलक)ले नवलपुरको समग्र विकासका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै उनले विगतमा सुरु गरिएका अधुरा योजनाहरूलाई सम्पन्न गर्ने र दीर्घकालीन नयाँ योजना अघि सार्ने प्रतिबद्धता जनाएका हुन्।
घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै महतले आफ्नो पहिलो कार्यकालमा जिल्लामा थुप्रै महत्वपूर्ण योजना अघि बढाइएको उल्लेख गरे। केही योजना सम्पन्न भइसकेको र केही कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै उनले बाँकी योजनालाई समयमै पूरा गर्ने प्रतिवद्धता दोहोर्याए। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी तथा समग्र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।
‘म सधैं जनताकै बीचमा छु। जनताको चाहना र आवश्यकताअनुसार काम गर्न प्रतिबद्ध छु,’ महतले भने, ‘अघिल्लो कार्यकालमा सुरु गरिएका योजनालाई पूर्णता दिनुका साथै नवलपुरको भविष्यसँग जोडिएका नयाँ योजना अघि सार्ने मेरो लक्ष्य छ।’

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महतले नवलपुर–२ का ४० वटै वडामा घरदैलो तथा चुनाव प्रचार अभियानलाई तीव्र बनाएका छन्। निर्वाचन आयोगले औपचारिक प्रचार अवधि सुरु गरेसँगै नेता–कार्यकर्ता गाउँ–टोल केन्द्रित अभियानमा जुटेको उनले जानकारी दिए। घरदैलोका क्रममा उम्मेदवार महत स्वयं मतदातासँग भेटघाट र छलफलमा सक्रिय देखिएका छन्।
स्थानीय मतदाताहरूले महतलाई स्पष्ट दृष्टिकोण र विकासप्रति दृढ अठोट भएका नेताका रूपमा लिएको प्रतिक्रिया दिएका छन्। अधुरा योजना सम्पन्न गर्न र जिल्लाको आवाज सशक्त रूपमा सदनमा उठाउन सक्ने उम्मेदवारका रूपमा उनको चर्चा भइरहेको छ।
महतले देशको समृद्धि एमाले नेतृत्वबिना सम्भव नभएको दाबी गर्दै तराईदेखि हिमालसम्म सडक, पुल, सुरुङमार्ग, फ्लाइओभर, सिँचाइ तथा अन्य भौतिक पूर्वाधार निर्माणमा एमाले सरकारको भूमिका उल्लेख गरे। शिक्षा, स्वास्थ्य, खेलकुद तथा आर्थिक पूर्वाधार सुदृढीकरणमा पार्टीले महत्वपूर्ण काम गरेको दाबी गर्दै उनले सूर्य चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरे।

एमालेका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्जसमेत रहेका महत गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–२ मा जन्मिएका हुन्। २०४२ सालमा बसाइँ सरेर नवलपुरको कावासोती आएका उनले कुमारवर्ती बहुमुखी क्याम्पसबाट स्नातकसम्म अध्ययन गरेका छन्। अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी दुई पटक जिल्ला कमिटी अध्यक्ष भइसकेका छन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महतले नेपाली कांग्रेसका विष्णुकुमार कार्कीलाई पराजित गरेका थिए भने २०७९ सालमा कार्कीसँगै पराजित भएका थिए। तेस्रो पटक उम्मेदवारी दिएका महतले नदी तटबन्धन, मध्यवर्ती क्षेत्रका समस्या समाधान तथा पर्यटन विकासलाई प्राथमिकतामा राख्दै ‘समृद्ध नवलपुर, सम्मानित नवलपुरवासी’ निर्माणको लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।
