२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • बदर मत घटाउन निर्वाचन आयोगको तयारी,...

बदर मत घटाउन निर्वाचन आयोगको तयारी, देशव्यापी मतदाता शिक्षा फागुन ३ बाट

बदर मत घटाउन निर्वाचन आयोगको तयारी, देशव्यापी मतदाता शिक्षा फागुन ३ बाट

सहर्ष न्युज
मंगलवार, माघ २८ २०८२
सहर्ष न्युज
मंगलवार, माघ २८ २०८२
  • काठमाडौँ । कुनै पनि निर्वाचनमा जित–हारको फैसला एक मतले समेत हुन सक्ने भएकाले मतको मूल्य अत्यन्तै महत्वपूर्ण हुन्छ। तर निर्वाचन आयोगका अनुसार प्रत्येक निर्वाचनमा पाँचदेखि १५ प्रतिशतसम्म मत बदर हुँदै आएको छ।

    आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदातामा मत कसरी सही तरिकाले दिने भन्ने चासो बढेको छ। आयोगले बदर मत घटाउने उद्देश्यसहित देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने तयारी गरेको छ।

    सुन्धारामा भेटिनुभएकी सुनमाया महर्जनले यसपटक मत ठीकसँग हाल्ने चाहना भए पनि सरकारबाट पर्याप्त जानकारी नपाएको गुनासो गर्नुभयो। “यो पटक राम्ररी भोट हालौँ भन्ने हो, तर अहिलेसम्म कसरी दिने भनेर सिकाउन आएको छैन,” उहाँले भन्नुभयो।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फागुन ३ गतेदेखि देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिने कार्यसूची तय भइसकेको छ। यसपटकको मतदाता शिक्षामार्फत हरेक प्रदेश र जिल्लामा बदर मतको दर घटाउने आयोगको लक्ष्य रहेको उहाँले बताउनुभयो।

    आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयलाई मतदाता शिक्षाका लागि स्वयंसेवक तथा अनुगमनकर्ता नियुक्त गर्न निर्देशन दिइसकिएको छ। आयोगको केन्द्रस्तरको काम क्रमशः घट्दै गए पनि जिल्ला निर्वाचन कार्यालयको भूमिका बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो।

    यस निर्वाचनमा डिजिटल मतदाता शिक्षालाई विशेष प्राथमिकता दिइएको घिमिरेले जानकारी दिनुभयो। “पहिले स्वयंसेवकलाई तालिम दिइन्छ, त्यसपछि उनीहरू डिजिटल माध्यम प्रयोग गरेर मतदाताको घरदैलोमा पुगेर सिकाउँछन्,” उहाँले भन्नुभयो।

    डिजिटल शिक्षामार्फत मोबाइल फोनको प्रयोग गर्दै आयोगले तयार पारेका सिकाइ सामग्रीमा मतदातालाई सहज पहुँच पुर्‍याउने योजना रहेको छ। यसले आम नागरिकमा निर्वाचन प्रक्रियाप्रति अपनत्व र सहभागिता बढाउने अपेक्षा आयोगले गरेको छ। कागजको प्रयोग न्यून गरी वातावरणमैत्री निर्वाचन गर्ने लक्ष्यअनुसार तयारी अघि बढाइएको घिमिरेले प्रस्ट पार्नुभयो।

    स्वयंसेवकसँग नमुना मतपत्र रहने र त्यसको माध्यमबाट मतदान गर्दा स्वस्तिक छाप कसरी लगाउने, मतपत्र कसरी पट्याउने र दुईवटा बाकसमा कसरी छुट्टाछुट्टै खसाल्ने भन्ने व्यवहारिक अभ्यास गराइने उहाँले जानकारी दिनुभयो। साथै आयोगका फेसबुक, एक्स, टिकटकलगायतका सामाजिक सञ्जालमार्फत पनि मतदाता शिक्षा सामग्री उपलब्ध गराइनेछ।

    केही जिल्लाले स्थानीय आवश्यकताअनुसार थप योजना बनाएका छन्। सोलुखुम्बुका जिल्ला निर्वाचन अधिकारी दीपेन्द्रमान अधिकारीका अनुसार जिल्लाका २२ वटै वडामा स्वयंसेवकमार्फत शिक्षा दिनुका साथै स्थानीय एफएम, रेडियो, अनलाइन मिडिया र पत्रपत्रिकालाई पनि मतदाता शिक्षामा सहभागी गराइनेछ।

    “हाम्रो भौगोलिक अवस्था कठिन भएकाले घर–घर पुगेर छोटो समयमा सबै मतदातालाई सिकाउन गाह्रो हुन्छ,” उहाँले भन्नुभयो। त्यसैले एकै ठाउँमा भेला गराएर प्रशिक्षण दिने र रेडियो तथा अनलाइन माध्यमबाट निरन्तर सूचना प्रवाह गर्ने रणनीति अपनाइने उहाँले बताउनुभयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend