काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मेयर पदबाट राजीनामा दिएका छन्। आइतबारकै मितिदेखि लागू हुने गरी स्वेच्छिक रूपमा राजीनामा दिएको उल्लेख गर्दै उनले आफ्नो राजीनामा पत्र पेश गरेका हुन्।
राजीनामा पत्रमा मेयर शाहले पदमा रहँदा महानगर र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक काम गरेको उल्लेख गरेका छन्। साथै, उनले आगामी नेतृत्वलाई शुभकामना दिँदै आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका शाहको राजीनामालाई उनका समर्थकहरूले राष्ट्रिय राजनीतिमा सक्रिय हुने संकेतको रूपमा लिएका छन्। स्रोतका अनुसार शाह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारीमा छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग संयुक्त रूपमा निर्वाचन अभियान अघि बढाउने तयारी गरिरहेको बताइएको छ।
मेयर शाहको राजीनामापछि काठमाडौं महानगरपालिकाको कार्यबाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले सम्हालेकी छन्।
यसै दिन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पनि पदबाट राजीनामा दिएका छन्। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुख पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
मेयर साम्पाङले उपप्रमुखसमक्ष हस्तलिखित राजीनामा पत्र बुझाउँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने औपचारिक घोषणा गरेका हुन्।
एकै दिन काठमाडौं र धरानजस्ता प्रमुख सहरका मेयरहरूले राजीनामा दिएपछि नेपाली राजनीतिमा नयाँ चर्चा र तरंग पैदा भएको छ। विशेषगरी युवापुस्तामाझ लोकप्रिय यी दुई नेताको केन्द्रीय राजनीतिमा प्रवेशले आगामी निर्वाचनलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
