काठमाडौं । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को राजनीति झापाबाटै समाप्त गर्ने रणनीति बनाएको आरोप लगाएका छन्।
गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग ‘अदृश्य शक्ति’ को दबाबमा जबरजस्ती जोडिएको दाबी गर्दै रास्वपाले बालेनलाई मनदेखि स्वीकार नगरेको बताए। “कुलमान जी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्वीकार्न सक्दैन,” उनले भने, “रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनाएको छ। यो क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन्।”
बालेनलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको विषयमा टिप्पणी गर्दै गिरीले उक्त घोषणा अदृश्य शक्तिको दबाबमा गरिएको र यसप्रति रास्वपाभित्रै असन्तुष्टि रहेको दाबी गरे। “रास्वपा निर्माण गर्न रवि लामिछानेसहितका नेता–कार्यकर्ताले धेरै दुःख गरेका छन्। प्रधानमन्त्री अरू कसैलाई बनाउने कुरा उनीहरूले सहज रूपमा स्वीकार्ने अवस्था छैन,” उनले भने।
परिस्थितिजन्य बाध्यताका कारण मात्रै रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको गिरीको भनाइ छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक रूपमा अप्ठ्यारो पार्न बालेनलाई ‘फण्डा’ का रूपमा प्रयोग गरिएको हुन सक्ने उनको आशंका छ।
एमाले आफ्नो संगठनात्मक शक्तिकै बलमा आगामी निर्वाचनमा जाने स्पष्ट पार्दै गिरीले झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतका साथ विजयी हुने दाबीसमेत गरे।
