सुलीकोट । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटस्थित चुच्चेढुङ्गा–दारीमबोट खेतमा सिँचाइ कुलो निर्माण सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत साढे तीन लाख रुपैयाँ बजेटबाट उक्त कुलो निर्माण गरिएको हो।
वर्षौंदेखि सिँचाइको अभाव झेल्दै आएका यस क्षेत्रका किसान कुलो निर्माणपछि उत्साहित देखिएका छन्। वर्षाको भरमा खेती गर्न बाध्य किसान अब नियमित रूपमा खेतमा पानी पुर्याउन सक्ने भएका स्थानीय जनप्रतिनिधि जितबहादुर नेपालीले जानकारी दिनुभयो।
कुलो निर्माणसँगै धान, मकै, गहुँ तथा तरकारी बालीको उत्पादन बढ्ने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन्। किसानको उत्पादन वृद्धि गरी आयआर्जनमा सुधार ल्याउने उद्देश्यले सिँचाइ पूर्वाधारमा लगानी गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबास आलेका अनुसार सीमित स्रोतसाधनका बाबजुद पनि किसानको आवश्यकता पहिचान गरी योजना कार्यान्वयन गरिएको हो। उक्त सिँचाइ कुलोबाट करिब १०७ रोपनी क्षेत्रफलको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ।
सामान्य सिँचाइको पहुँच भए पनि उच्च धान उत्पादन सम्भावना रहेको क्षेत्र भएकाले बजेट विनियोजन गरी कुलो निर्माण गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ। आगामी दिनमा आवश्यकता र औचित्यका आधारमा थप सिँचाइ तथा कृषि प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत आलेले बताउनुभयो।
गाउँपालिकाको प्रत्यक्ष निगरानीमा गुणस्तरीय सामग्री प्रयोग गरी कुलो निर्माण गरिएको जनाइएको छ। कुलो निर्माण सम्पन्न भएपछि सयौँ किसानले गाउँपालिकालाई धन्यवाद दिँदै यस्ता विकास निर्माणका काम निरन्तर अगाडि बढाउन माग गरेका छन्। सिँचाइ सुविधा विस्तारसँगै बाँझो जमिन सदुपयोग हुने र स्थानीय कृषि अर्थतन्त्र थप सुदृढ हुने विश्वास गाउँपालिकाले लिएको छ।
