काठमाडौं : भारतको उत्तरी गोवास्थित अर्पोराको लोकप्रिय ‘बर्च बाई रोमियो लेन’ नाइट क्लबमा शनिबार राति भएको भीषण आगलागीमा चार नेपाली नागरिकसहित २५ जनाको मृत्यु भएको पुष्टि भएको छ। विद्युतीय पटाका पड्किँदा लागेको आगो छिट्टै फैलिँदा २० कर्मचारी र ५ पर्यटकले ज्यान गंुमाएका हुन्। घटनामा करिब ५० जना घाइते भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
क्लबमा सुरक्षा मापदण्ड नै थिएन
अनुसन्धानका क्रममा क्लबमा दमकल विभागको NOC नभएको, आगो सुरक्षा मापदण्ड पालना नगरिएको र आपतकालीन निस्कने मार्ग अत्यन्त साँघुरो रहेको खुलेको छ।
धेरैजसो मानिसको मृत्यु निसास्सिएर भएको पुलिसको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। पीडितहरू भुईँतलामा र भान्सामा फसेका कारण उद्धार कार्य कठिन बनेको थियो। साँघुरो गल्लीका कारण दमकल गाडीहरू पनि ढिलो पुगेका थिए।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले क्लबभित्र पटाका पड्काएकै कारण आगो लागेको प्रारम्भिक निष्कर्ष आएको बताए। उनले मृतकका परिवारलाई ५ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार राहत दिने घोषणा गरेका छन्।
क्लबका म्यानेजमेन्ट र स्थानीय जनप्रतिनिधि पक्राउ
प्रहरीले क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुरलाई पक्राउ गरेको छ।
मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध एफआईआर दर्ता गरिएको छ।
अर्पोरा–नागोआ पञ्चायतका सरपञ्च रोशन रेडकरलाई पनि हिरासतमा लिइएको छ।
अघिल्लो स्वीकृतिदातामाथि पनि कारबाही
सन् २०२३ मा क्लबलाई अनुमति दिने प्रक्रियामा संलग्न तत्कालीन पञ्चायत निर्देशक सिद्धि तुषार हरलंकर, गोवा प्रदूषण नियन्त्रण बोर्डकी सदस्य–सचिव डा. शमिला मोन्टेइरो र गाउँ पञ्चायतका सचिव रघुवीर बागकरलाई पहिले नै निलम्बन गरिएको थियो।
सरकारले एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
उच्चस्तरीय छानबिन र राजनीतिक दबाब
घटनाप्रति भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दु:ख व्यक्त गरेका छन्।
यसबीच विपक्षी दलहरूले मुख्यमन्त्री सावन्तको राजीनामा माग गर्दै घटनालाई सरकारको ‘‘गम्भीर लापरवाही’’ को परिणाम भनेका छन्।
मुख्यमन्त्री सावन्तले यस्ता घटना दोहोरिन नदिने गरी कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
