नेपालगन्ज : नेपाल–भारत सीमाक्षेत्रसँग जोडिएको बाँके जिल्लामा गत एक वर्षमा ८० जना नयाँ एचआइभी संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन रविन्द्रकुमार साहका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ६९७ जनामा गरिएको परीक्षणबाट ८० नयाँ संक्रमित पहिचान भएका हुन्।
यसै अवधिमा ‘प्रिभेन्सन अफ मदर–टु–चाइल्ड ट्रान्समिसन’ (PMTCT) कार्यक्रमअन्तर्गत २८ हजार २३४ जना गर्भवती महिलाको एचआइभी परीक्षण गरिएको थियो, जसमा कुनै पनि नयाँ संक्रमण भेटिएको छैन।
भेरी अस्पतालमा हाल ६१३ जना एचआइभी संक्रमितले नियमित रूपमा एआरटी सेवा (Antiretroviral Therapy) लिइरहेका छन्। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा एचआइभी नियन्त्रणका प्रयासलाई स्थानीय सरकारले अझ प्रभावकारी र जिम्मेवारीपूर्वक अघि बढाउनुपर्ने आवश्यकता छ।
नेपालमा एचआइभी संक्रमणको उच्च जोखिममा सुइद्वारा लागूपदार्थ प्रयोग गर्ने व्यक्ति, यौनकर्मी, जेलका कैदी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी समुदाय, र वैदेशिक रोजगारीमा जाने समूह पर्ने गरेका छन्। यीमध्ये विशेष गरी सुई प्रयोगकर्तामा र पुरुष समलिङ्गी यौनकर्मीमा संक्रमण दर अन्य समूहभन्दा बढी देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
