नवलपरासी : लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवारलाई बर्दघाट नगरपालिकाले नगरभित्रका खोलाहरूमा तटबन्ध निर्माणका लागि विस्तृत योजनाहरू हस्तान्तरण गर्दै तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मङ्गलबार मन्त्रालयमा भेटघाट गरी बाढी र कटानबाट हुने वार्षिक क्षति कम गर्न तटबन्ध अत्यावश्यक रहेकोमा जोड दिएको हो।
भेटघाटमा प्रदेश सभा अन्तर्गत कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक पनि उपस्थित थिए।
मन्त्री कलवारले बर्दघाट नगरपालिकाबाट प्राप्त योजनालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै भने, “बाढी नियन्त्रण र नदी किनारका बस्तीको सुरक्षण प्रदेश सरकारको प्राथमिकता हो। स्थानीय तहसँग समन्वय गरेर आवश्यक पहल तुरुन्तै अघि बढाइनेछ।” उहाँका अनुसार योजना अध्ययनपछि आवश्यक बजेट विनियोजन र आगामी कार्यक्रम समावेश गर्न कदम चालिनेछ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले झरही, तुरिया, पञ्चनगर लगायतका खोलामा हरेक वर्ष ठूलो जनधनको क्षति हुने भएकाले विस्तृत अध्ययनसहितका तटबन्ध योजनाहरू प्रदेश सरकारलाई बुझाइएको बताए। “मन्त्रालयले सकारात्मक रूपमा लिएको छ, अब छिट्टै कार्यान्वयन हुने अपेक्षा गरेका छौँ,” उनले भने।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले तटबन्ध निर्माण भएमा नदीको बहाव नियन्त्रण भई कृषि भूमि तथा बस्ती सुरक्षित हुने जानकारी दिए। उनले योजना कार्यान्वयनका लागि मन्त्रालयसँग निरन्तर समन्वय रहने बताए।
अब बर्दघाट नगरपालिकाले पेस गरेको तटबन्ध योजनालाई प्रदेश सरकारको आगामी बजेट र वार्षिक कार्यक्रममा समावेश गर्ने चुनौतीसहित अवसर पनि देखिएको छ। मन्त्री कलवारको सकारात्मक प्रतिक्रियाले स्थानीय बासिन्दामा तटबन्ध निर्माणका काम अघि बढ्ने आशा पलाएको छ।
