काठमाडौं । विभिन्न माग सहित आन्दोलनमा उत्रिएका औषधि व्यवसायी र सरकारपक्षबीचको वार्ता सफल भएपछि तीन बुँदे सहमति भएको छ। सहमति भएपछि औषधि व्यवसायीहरूको संघर्ष समितिले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने घोषणा गरेको छ।
संघर्ष समितिका सदस्य–सचिव शुभमान श्रेष्ठका अनुसार त्रिपक्षीय वार्ताबाट तीन सूत्रीय सम्झौता सम्पन्न भएको हो। उनले मंगलबार पत्रकार सम्मेलनमार्फत् सहमतिको विवरण र आगामी कदमबारे जानकारी सार्वजनिक गरिने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको वार्तामा सरकारतर्फबाट औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल र समन्वय महाशाखा प्रमुख डा. भीमप्रसाद सापकोटा सहभागी थिए। त्यस्तै व्यवसायी तर्फबाट संयोजक श्रीधर खनालसहित १४ जना प्रतिनिधिहरू उपस्थित थिए।

