२०८३ भाद्र २७ गते शनिवार

images

बरु गोरखा, तनहुँतिर मकै गोडेर बस्छु, रास्वपा छोड्दिनँ, ‘कुलमानसँग मिल्नैपर्छ भन्ने सहमति छ’ : वाग्ले

बरु गोरखा, तनहुँतिर मकै गोडेर बस्छु, रास्वपा छोड्दिनँ, ‘कुलमानसँग मिल्नैपर्छ भन्ने सहमति छ’ : वाग्ले

सहर्ष न्युज
बिहिवार, मंसिर १२ २०८२
सहर्ष न्युज
बिहिवार, मंसिर १२ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूले पार्टी छोड्न लागेको भन्ने हल्लामा कुनै सत्यता नरहेकाे टिप्पणी गरेका छन्।

    बुधबार नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वाग्लेले बरु खेती किसानी गरेर बस्ने तर रास्वपा नछोड्ने अडान व्यक्त गरे।

    पछिल्लो समय वाग्ले नेपाली कांग्रेसमा फर्किन लागेको भन्ने हल्ला चलेपछि उनले सो हल्लाको खण्डन गरेका हुन्।

    सञ्चारकर्मीको जिज्ञासामा डा. वाग्लेले भने, ‘साथीहरू आत्तिनुभएको छ, तर स्वर्णिम वाग्लेले रास्वपा छोड्ने कुरामा एक रौं, एक इन्च पनि गुन्जायस छैन। बरु गोरखा/तनहुँतिर गएर मकै गोडेर बसिएला, तर पार्टी छोडिँदैन।’

    उनले आफू उच्च राजनीतिक संस्कार स्थापित गर्न आएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे।

    ‘कुलमानसँग मिल्नैपर्छ भन्ने सहमति छ’

    वर्तमान उर्जामन्त्री कुलमान घिसिङसँगको भेटघाट र राजनीतिक सहकार्यबारे सोधिएको प्रश्नमा वाग्लेले आफूहरूबीच फिजिकल र केमिस्ट्री दुवै मिलेको संकेत गरे।

    ‘आज एउटा कार्यक्रममा कुलमानजी र म झण्डै दुई घण्टा सँगै थियौं, संयोगले कुर्सी पनि सँगै पर्‍यो,’ वाग्लेले भने, ‘हामी मिल्नैपर्छ भन्नेमा हाम्रो सैद्धान्तिक सहमति छ। आजको आजै पार्टी एकता नहोला, तर चुनावअघि हामी एउटै मैदानमा आउँछौं। राम्रा मान्छेहरू एक ठाउँमा उभिनुपर्छ।’

    कारागारमा रहेका सभापति रवि लामिछानेसँगको भेटबारे जानकारी दिँदै वाग्लेले लामिछानेले अब परिस्थितिले सीमा नाघेको सन्देश पठाएको बताए। ‘भित्र बसेर र बाहिर बसेर नेगोसिएसन गर्न गाह्रो हुन्छ, अब त अति नै भयो भन्ने उहाँको बुझाइ छ,’ वाग्लेले भने।

    उनले अघिल्लो सरकारले प्रतिशोध साँधेको भए पनि आफ्नो पार्टी विधिको शासनमा विश्वास गर्ने भएकाले अदालती प्रक्रियालाई सम्मान गर्ने बताए।

    तर, संसदीय छानबिन समितिको प्रतिवेदनभन्दा बाहिर गएर दुःख दिने नियत राखिए त्यसको प्रतिवाद गर्ने उनको चेतावनी थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend