काठमाडौं । व्यावसायिक मनोरञ्जनको क्षेत्रमा पर्ने क्यासिनोलाई थप कानुनी दायरामा बाँध्ने उद्देश्यसाथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले १२ बुँदे नयाँ निर्देशन जारी गरेको छ। विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथामसम्बन्धी व्यवस्था को पूर्ण पालना गर्न निर्देश गरेको हो।
नयाँ निर्देशनअनुसार क्यासिनोले नेपाल राष्ट्र बैंकबाट विदेशी परिवर्त्य मुद्रा कारोबारको अनुमति नलिई कुनै पनि विदेशी मुद्राको कारोबार गर्न नपाउनेछ। क्यासिनो नियमावली–२०७० तथा पर्यटन विभागले जारी गरेका निर्देशनअनुसारका विवरण नियमित रूपमा विभागमा पेश गर्नुपर्नेछ।
क्यासिनो खेलाडीहरूको ग्राहक पहिचान प्रणाली तथा बायोमेट्रिक विवरण अद्यावधिक राख्नुपर्छ र विभागले मागेमा तत्काल उपलब्ध गराउनुपर्नेछ। साथै, क्यासिनोभित्र हुने सबै गतिविधि सिसिटिभीमार्फत रेकर्ड गरी कम्तीमा ६ महिना अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।
तेस्रो पक्षमार्फत क्यासिनो सञ्चालन गर्न नपाइने र इजाजत लिएकै स्थानबाहेक अन्यत्र सञ्चालन पूर्ण रूपमा प्रतिबन्धित हुनेछ। खेलाडीले जितेको रकम भुक्तानी गर्नुअघि प्रचलित कानुनअनुसार आकस्मिक लाभकर अग्रिम रूपमा कट्टी गर्नुपर्ने र सोको प्रमाणपत्र आन्तरिक राजस्व कार्यालयमा बुझाई विभागलाई समेत जानकारी दिनुपर्ने निर्देशन छ।
अनलाइन वा इन्टरनेटमार्फत कुनै पनि प्रकारको खेल खेलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै, क्यासिनो तथा होटल परिसरभित्र–बाहिर पर्याप्त सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ।
नेपाल ग्रे लिस्ट बाट छिटो बाहिरिनुपर्ने लक्ष्यसहित सुधारात्मक कार्यविधि–२०८२ को आधारमा क्यासिनो अनुगमन गरिने र कुनै त्रुटि भेटिएमा तत्काल कानुनअनुसार कारबाही हुने चेतावनी पनि विभागले दिएको छ।
