काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी सोमबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का अनुसार प्राविधिकदेखि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
क्यानका अध्यक्ष चतुबहादुर चन्दले पहिलो संस्करणको उत्साहका आधारमा यसपटकको एनपिएललाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्य रहेको बताए। “नेपाली खेलकुदलाई उद्योगका रूपमा विकास गर्ने यात्रामा एनपिएल महत्वपूर्ण हुने छ,” उनले भने, “यसका लागि सबैको साथ–सहयोग आवश्यक छ।”
फ्लडलाइटमा पहिलोपटक खेल
सचिव खड्काले यसपटक पहिलोपटक खेलहरू फ्लडलाइटमा आयोजना गर्न लागिएको बताउँदै दर्शकलाई नयाँ अनुभव हुनेछ भने। उनले एनपिएल अवधिभर कुनै आन्दोलन वा विरोध कार्यक्रम नगर्न समेत आग्रह गरे।
टिकट दर र बिक्री
क्यानले दैनिक ९,४५० टिकट बिक्री गर्ने योजना सार्वजनिक गरेको छ।
-
उद्घाटन खेलका टिकट: सामान्य ५००, प्रिमियम १,५०० (सबै टिकट बिक्री भइसकेको)
-
लिग चरण: सामान्य ५००, प्रिमियम १,०००
-
प्लेअफ: सामान्य १,०००, प्रिमियम २,०००
-
सिजनल पास: १५,००० रुपैयाँ
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाजबीच अपरान्ह ४:०० बजे प्रतिस्पर्धा हुनेछ।
४० करोड आम्दानीको प्रक्षेपण
क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार दोस्रो संस्करणबाट करिब ४० करोड रुपैयाँ आम्दानीको प्रक्षेपण गरिएको छ।
आम्दानीका प्रमुख शीर्षकः
-
प्रायोजन: १५ करोड ३० लाख
-
सहभागी टोलीबाट: ९ करोड
-
ओटीटी: ५ करोड ३० लाख
-
टिकट बिक्री: १२ करोड
-
स्थानीय प्रसारण अधिकार: १ करोड
सुरक्षा कडा, एन्टी–करप्सन युनिट सक्रिय
मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपिएलका लागि सुरक्षा व्यवस्थालाई कडा बनाइएको क्यानले जनाएको छ। प्यारापिट बाहिर दुई तहको सुरक्षा घेरा राखिएको छ भने खेल मिलेमतो र अनलाइन बेटिङ रोकथामका लागि नेपाल प्रहरीको विशेष एन्टी–करप्सन युनिट परिचालन गरिएको छ।
८ फ्रेन्चाइज टिमको प्रतिस्पर्धा
एनपिएलमा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछः
जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स।
क्यानले पहिलो संस्करणमै १० वर्षका लागि फ्रेन्चाइज सम्झौता गरिसकेको छ।
कुल ३२ खेलसहित यसपटकको एनपिएललाई नेपाली क्रिकेटको महत्वपूर्ण माइलस्टोन मानिएको छ।
