काठमाडौं । बेलायतमा आयोजित हुन लागेको बहुप्रतिक्षित ‘दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२५ (इन्फा अवार्ड)’ मा सहभागी हुन करिब तीन दर्जन नेपाली कलाकार, प्राविधिक र फिल्मकर्मी लन्डन पुगेका छन्। कार्यक्रमका लागि नेपालका लोकप्रिय तथा प्रतिभाशाली कलाकारहरूको टोली बिहीबार साँझ हिथ्रो विमानस्थल आइपुगेपछि आयोजक समितिले उनीहरूको भव्य स्वागत गरेको थियो।
कार्यक्रम १५ नोभेम्बर, शनिबार लन्डनको ग्रीनफोर्ड टाउन हलमा आयोजना हुँदैछ। अभिनेत्री दिपाश्री निरौलाका अनुसार विदेशमा बसेर नेपाली समुदायले कला, संस्कृति र नेपाली फिल्मप्रतिको माया प्रदर्शन गर्ने ठूलो अवसरका रूपमा यो अवार्ड रहेको छ।
हाँस्यकलाकार तथा निर्माता–अभिनेता दिपकराज गिरीले विदेशमा आयोजना हुने अवार्डले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीलाई मातृभूमिसँग जोड्ने पुलको काम गरेको बताए।
सहभागी कलाकारहरूको लामो सूची
इन्फा अवार्डमा सहभागी हुन नेपालबाट पुगेका कलाकारहरूमा—
दिपकराज गिरी, दिपाश्री निरौला, गौरी मल्ल, केदार घिमिरे, जितु नेपाल, प्रदीप खड्का, रमेश बुढाथोकी, एन्जिला तुम्बापो सुब्बा, दिव्या रायमाझी, तेरिया फोहोरामगर, केकी अधिकारी, निता ढुंगाना, विजय बराल, समर्पण लामा, अलिसा शर्मा, कविता नेपाली, उषा उप्रेती, दिया मास्के, ऋचा घिमिरे, मलिना जोशी, उपासना सिंह ठकुरी, मिलन चाम्स, रिहान गिरी, प्रमोद अग्रहरीलगायत करिब तीन दर्जन कलाकार समावेश छन्।
२७ विधामा अवार्ड वितरण
आयोजक उमेशराज मोक्तानका अनुसार ५५ फिल्ममध्येबाट २७ विधामा अवार्ड वितरण गरिनेछ। यसका लागि विशेष जूरी समिति गठन गरिएको छ, जसमा—
-
गौरी मल्ल (संयोजक)
-
रमेश बुढाथोकी
-
करुण थापा
समावेश छन्।
लाइफटाइम अचिभमेन्ट अवार्ड शर्मिला मल्ललाई
यस पटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने तयारी गरिएको आयोजकले जनाएको छ।
आकर्षक प्रस्तुति सहितको भव्य कार्यक्रम
आयोजक समितिका सदस्य आशिषराज पन्तका अनुसार ख्यातिप्राप्त कलाकारहरूले एउटै मञ्चबाट गायन, हास्यव्यंग्य, नृत्यलगायत विशेष प्रस्तुति दिनेछन्।
कार्यक्रम सफल बनाउन बेलायतबाट—
उमेशराज मोक्तान, टंक भट्टराई, राज पाण्डे, आशिषराज पन्त
र नेपालबाट—
सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी, मनिष कार्की
आदिको टोली सक्रिय रहेको छ।
समाजसेवी क्षमता ढकालले बेलायतस्थित नेपाली समुदायले अवार्डप्रति ठूलो उत्साह र सहयोग देखाएको जानकारी दिइन्।
अवार्ड कार्यक्रममा सहभागी अधिकांश कलाकार आगामी सोमबार नेपाल फर्कनेछन्।
