जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा औषधि खरिद प्रक्रियामा व्यापक अनियमितता भएको तथ्य सार्वजनिक भएको छ। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनले पालिकाले बोलपत्रमा पेश गरिएको मूल्यभन्दा फरक — अर्थात् उच्च दरमा भुक्तानी गरेको उल्लेख गरेको छ।
प्रतिवेदनका अनुसार पालिकाले १३ वटा औषधि आइटममा बढी मूल्य कायम गरेर भुक्तानी गर्दा करिब १ लाख ७६ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी व्यहोर्नु परेको छ।
बोलपत्रभन्दा फरक मूल्यमा भुक्तानी
आर्थिक वर्ष २०८०/८१ मा औषधि खरिदका लागि कुशे गाउँपालिकाले ३५ लाख २२ हजार २ सय ९१ रुपैयाँ बराबरको लागत अनुमान तयार गरी शिलबन्दी दरभाउपत्र (tender) आह्वान गरेको थियो।
छ वटा बोलपत्र मध्ये सरोबर मेडिसिन डिस्ट्रीब्युटर्सले प्रस्तुत गरेको १६ लाख ३५ हजार ५ सय ९० रुपैयाँको न्यूनतम दरमा सम्झौता गरिएको थियो। तर, औषधि आपूर्ति चरणमा बोलपत्रमा उल्लेख भएको दरभन्दा फरक र उच्च मूल्यमा भुक्तानी गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
मापदण्ड र प्राविधिक शर्त उल्लंघन
महालेखाको प्रतिवेदनका अनुसार पालिकामा आपूर्ति भएका धेरै औषधिहरूमा उत्पादन मिति, म्याद सकिने मिति, ब्याच नम्बर र कम्पनीको नाम स्पष्ट उल्लेख गरिएको थिएन।
यसबाहेक, औषधिको म्यादमा न्यूनतम १८ महिना बाँकी हुनुपर्ने कानुनी व्यवस्था समेत पालना गरिएको छैन।
प्रक्रियागत त्रुटि र मूल्य हेरफेर
प्रतिवेदनले औषधि खरिद प्रक्रियामा प्रक्रियागत त्रुटि, मूल्य हेरफेर र मापदण्ड उल्लंघन नै मुख्य अनियमितताको कारण भएको औंल्याएको छ।
लेखापरीक्षण निकायले यसअघि नै मितव्ययी खर्च र अनावश्यक शीर्षकमा खर्च न्यूनीकरण गर्न निर्देशन दिएको भए पनि, पालिकाले ती निर्देशनको पालना नगरेको पनि प्रतिवेदनमा उल्लेख छ।
