२०८३ भाद्र २७ गते शनिवार

images

रुकुमपश्चिममा जिप दुर्घटना, ८ जनाको मृत्यु र १० जना घाइते

रुकुमपश्चिममा जिप दुर्घटना, ८ जनाको मृत्यु र १० जना घाइते

सहर्ष न्युज
शनिवार, कार्तिक ९ २०८२
सहर्ष न्युज
शनिवार, कार्तिक ९ २०८२
  • रुकुमपश्चिम : रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

    प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मृत्यु हुनेहरु क्रमशः आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला ओली, आठबिसकोट–१ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, आठबिसकोट–२ की १७ वर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल ओली रहेका छन्।

    दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्। घाइतेहरुमा मुसीकोट नगरपालिका–२ का ३४ वर्षीय चालक टोपजंग बुढा, आठबिसकोट–१ की १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा र १५ वर्षीया सबिता विक रहेका छन्।

    घाइते मध्ये जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ।

    दुर्घटना शुक्रबार बेलुका मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिका–स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमानामा पर्ने झारमारे लेकमा दुर्घटनाग्रस्त भएको हो।

    प्रहरीका अनुसार जिप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो। क्षमताभन्दा बढी यात्रु भएकाले जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend