काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि आन्तरिक हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। प्राधिकरणमा आज सम्पन्न उच्चस्तरीय बैठकले यो निर्णय गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा भएको बैठकमा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले संघीय सरकारले तोकेको अधिकतम भाडादरको आधारमा ७० वर्षमाथिका नागरिकलाई ५० प्रतिशत, ७५ वर्षमाथिका नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो।
महानिर्देशक अधिकारीका अनुसार, फरक क्षमता भएका नागरिकहरूलाई पनि उमेरको हेरफेर नगरी कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गरिनेछ।
"आजको निर्णयले हवाई यात्रामा समावेशीता र पहुँच विस्तारमा ऐतिहासिक योगदान पुर्याउने विश्वास लिएको छ," अधिकारीले बताए।
प्राधिकरणले यो निर्णय आजैदेखि लागू गर्न सम्पूर्ण आन्तरिक वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। अबदेखि सबै वायुसेवा कम्पनीहरूले यो छुट तत्काल कार्यान्वयनमा ल्याउनु पर्नेछ।
उक्त योजनाबाट विशेषगरी दुर्गम भेगमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै, हवाई यात्रा गर्नुपर्ने बाध्यता भएका बिरामी, सेवा निवृत्त कर्मचारी र अन्य वृद्ध नागरिकको यात्रालाई सहज, सुरक्षित र किफायती बनाउने उद्देश्य प्राधिकरणको छ।
महानिर्देशक अधिकारीले भने, "हामी आगामी दिनमा पनि ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र अन्य यात्रुको हितमा अझ बढी जनमुखी नीतिहरू ल्याउँदै जानेछौं।"
