काठमाडौं : काठमाडौं महानगरपालिकाले प्रविधि-मैत्री ‘स्मार्ट ठेगाना’ प्रणालीको थालनी लैनचौरबाट गरेको छ। महानगरको वडा नं. २६ मा बुधबारदेखि एनएफसी चिप्स र क्युआर कोडयुक्त डिजिटल ठेगाना प्लेट जडान कार्य सुरु भएको हो।
करिब ४५ लाख रुपैयाँको लागतमा सञ्चालित यो योजनाअन्तर्गत वडाभित्रका ६ हजार ८५० घरमा २०८२ सालको कार्तिक मसान्तसम्म स्मार्ट प्लेट जडान गरिनेछ।
लैनचौरबाट शुभारम्भ
वडा कार्यालय लैनचौरमा ‘०९–लक्ष द्रव्य ६१११’ नम्बरको प्लेट जडान गर्दै वडाध्यक्ष एवं काठमाडौं महानगरको सुशासन समिति संयोजक ख्यामराज तिवारीले औपचारिक शुभारम्भ गरेका हुन्। तिवारीले उक्त प्रणालीले काठमाडौंमा विद्युतीय शासनको आधार तयार गर्ने दाबी गरे।
कसरी काम गर्छ स्मार्ट ठेगाना?
स्मार्ट प्लेट एलमुनियममा लेजर काटेर बनाइएको हुन्छ, जसमा क्युआर कोड, एनएफसी चिप, नेपाली स्थानीय कोड, र युनिभर्सल गुगल प्लस कोड समावेश गरिन्छ।
अब कुनै व्यक्तिलाई आफ्नो ठेगाना बताउन फोटो पठाए पुग्छ। फोटोमा भएको क्युआर कोड स्क्यान गरेपछि सो घरको लोकेसन सिधै मोबाइलमै देखिनेछ।
यस प्रणालीमा खानेपानी, बिजुली, इन्टरनेटजस्ता सेवाका ग्राहक नम्बर पनि राख्न मिल्नेछ। साथै, प्लेटमा रहेको यूनिक आइडी अफलाइनमै खोजी गर्न मिल्ने बनाइएको छ।
सेवा प्रवाहदेखि उद्धारसम्म सहयोगी
वडाध्यक्ष तिवारीका अनुसार यो प्रणालीले ठेगाना मात्र होइन, डिजिटल डोरबेल, फोहोर व्यवस्थापन, स्थानीय सर्वेक्षण, सूचना प्रवाह लगायतका कार्यहरूमा समेत प्रयोग गर्न सकिनेछ।
वडा सचिव केदार रिमालले स्मार्ट ठेगाना प्रणालीले सेवा प्रवाह, राजस्व संकलन, विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा महत्वपूर्ण सहयोग पुग्ने बताए।
अन्य वडामा विस्तारको तयारी
प्रयोग सफल भएमा यो प्रविधि महानगरका अन्य वडाहरूमा पनि विस्तार गरिने योजना महानगरले अघि सारेको छ।
