२०८३ भाद्र २७ गते शनिवार

images

श्रीलंकन अन्डरवर्ल्ड डनको हत्यामा संलग्न ६ जना नेपालबाट पक्राउ, डिपोर्टसहित नेपाल प्रवेशमा एक वर्षको प्रतिबन्ध

श्रीलंकन अन्डरवर्ल्ड डनको हत्यामा संलग्न ६ जना नेपालबाट पक्राउ, डिपोर्टसहित नेपाल प्रवेशमा एक वर्षको प्रतिबन्ध

सहर्ष न्युज
बिहिवार, आश्विन ३० २०८२
सहर्ष न्युज
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौं : श्रीलंकाको राजधानी कोलोम्बोस्थित अदालत परिसरमा गत फेब्रुअरी १९ मा भएको अन्डरवर्ल्ड डन गणेमुल्ला सन्जीवाको हत्यामा संलग्न ६ जना अभियुक्त नेपालबाट पक्राउ परेका छन्।

    नेपाल प्रहरीको सक्रियतामा भक्तपुरबाट पक्राउ परेका ती ६ जनालाई अध्यागमन विभागले जरिवाना गर्दै आज (सोमबार) दिउँसो डिपोर्ट गरेको छ। विभागले उनीहरूलाई एक वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्धसमेत लगाएको जनाएको छ।

    प्रमुख अभियुक्तसहित ६ जना पक्राउ

    पक्राउ पर्नेमा मुख्य अभियुक्त इशारा सिउवान्डीसहित दिनेश निकान्थ, दिनेश श्यामान्था, जीवथसन कन्करासा, केन्डी बासटियमपिलाइ र थाक्सी नन्थाकुमार रहेका छन्। इशारा सिउवान्डी स्वयं पनि अन्डरवर्ल्ड समूहसँग आबद्ध रहेको बताइएको छ।

    अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार उनीहरू सबै अवैध रूपमा नेपालमा बसिरहेको पाइएको थियो। ‘कसैसँग पनि वैध पासपोर्ट थिएन। कोही ट्राभल डकुमेन्टमार्फत नेपाल आएका थिए भने कोही भारत हुँदै नेपाल छिरेका थिए,’ ढकालले जानकारी दिए।

    अदालतभित्रै भएको हत्या, सिउवान्डीको संलग्नता खुल्यो

    डन सन्जीवाको हत्या अदालत परिसरभित्रै भएको थियो। शमिन्दु दिलशन पियुमांगा नामका एक व्यक्तिले गोली हानेर हत्या गरेका थिए। सीसीटीभी फुटेजका आधारमा पियुमांगालाई एउटी महिलाले पेस्तोल लुकाएर अदालतसम्म पुर्‍याएको देखिएको थियो। अनुसन्धानमा ती महिला सिउवान्डी भएको खुलेको हो।

    सिउवान्डी श्रीलंकाबाट डुंगामार्फत भारत पुगेकी थिइन् र त्यहाँबाट बस र रेल प्रयोग गरी नेपाल आइपुगेकी बताइएको छ।

    रेड कर्नर नोटिस र विशेष अपरेसन

    श्रीलंकन प्रहरीले सन्जीवाको हत्यामा संलग्न ४० जनाविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको थियो। तिनमध्ये १८ जना अभियुक्तलाई श्रीलंकामा फर्काइसकिएको छ।

    सिउवान्डीसहितका केही अभियुक्त नेपाल प्रवेश गरेको सूचना पाएपछि श्रीलंकन प्रहरीले सीआईडी टोली नेपाल खटाएको थियो। न्युजवायरका अनुसार श्रीलंकन प्रहरी निरीक्षक रोहन ओलुगाला र गिहान दे सिल्भाको नेतृत्वमा आएको टोलीले भक्तपुरमा अभियुक्तहरू बसिरहेको ठेगाना पहिचान गरेको थियो। त्यसपछि श्रीलंकन दूतावासमार्फत सहयोग मागेर नेपाल प्रहरीले पक्राउ गरेको हो।

    भिसा सकिएको, पासपोर्ट नभएको

    अध्यागमन विभागका अनुसार तीन जना पर्यटक भिसामा नेपाल आएका थिए, तर उनीहरूको भिसा अवधि सकिएको पाइएको छ। बाँकी तीन जना भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गरेका थिए। सबैलाई जरिवानासहित डिपोर्ट गरिएको विभागले जनाएको छ।

    अर्को डन पद्मासँग नजिक

    पक्राउ परेका अभियुक्तहरू अर्का अन्डरवर्ल्ड डन केहेलब्याडडारा पद्मासँग नजिक रहेको पनि बताइएको छ। फरार सिउवान्डीबारे सूचना दिनेलाई श्रीलंकन प्रहरीले १२ लाख श्रीलंकन रूपियाँ पुरस्कारको घोषणा गरेकोसमेत विभिन्न सञ्चार माध्यमले जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend