काठमाडौं : गत भदौ २४ मा भएको जेन-जी आन्दोलनका क्रममा भएको क्षतिपछि स्थगित सर्वोच्च अदालतको नियमित काम कारबाही असोज २८ गतेदेखि पुनः सुरु हुने भएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सबै न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) को निर्णयअनुसार अब रिट निवेदनलगायतका मुद्दा दर्ता र सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्चद्वारा जारी सूचनामा भनिएको छ:
"यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुनेछ। साथै सर्वोच्च अदालतका अन्य नियमित सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने जानकारीसमेत दिइएको छ।"
यसअघि जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी, तोडफोड, लुटपाट र ढुंगामुढा हुँदा अदालतको भौतिक संरचनामा क्षति पुगेपछि बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेक सबै सेवा स्थगित गरिएको थियो।
अदालतले त्यसयता त्रिपालमुनि अस्थायी इजलास सञ्चालन गर्दै अति आवश्यक सेवा प्रवाह गर्दै आएको छ।
