२०८३ भाद्र २९ गते सोमवार

images

डा. निकोलस भुसालको गाँजा सेवन प्रकरण : सुधार केन्द्र पठाउने, प्रहरीले गतिविधिमा निगरानी राख्ने

डा. निकोलस भुसालको गाँजा सेवन प्रकरण : सुधार केन्द्र पठाउने, प्रहरीले गतिविधिमा निगरानी राख्ने

सहर्ष न्युज
शुक्रवार, आश्विन २४ २०८२
सहर्ष न्युज
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौं : लागूऔषध (गाँजा) सेवन प्रकरणमा प्रहरीले अभियन्ता डा. कमल (निकोलस) भुसालको गतिविधिमा निगरानी राख्ने जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी पवनकुमार भट्टराईले भुसाललाई सुधार केन्द्र पठाउने सर्तमा जिम्मा लगाइएकाले त्यसको कार्यान्वयनमा प्रहरीको निरन्तर ‘फलोअप’ रहने बताएका छन्।

    गत बिहीबार माइतीघरमा गृहमन्त्रीको राजीनामाको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा सहभागी भएका भुसालसहित ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा डा. भुसालले गाँजा सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

    स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मामा दिँदै सुधार केन्द्रमा भर्ना गरिने सर्त राखिएको भए पनि डा. भुसालले सामाजिक सञ्जालमार्फत आफूमाथि षड्यन्त्र गरिएको दाबी गरेका छन्। उनले फेसबुक लाइभमार्फत भनेका छन्, “मेरो बारेमा नराम्रो फैलाउन गाँजा सेवन गरेको आरोप लगाइएको हो। म त जाँड–रक्सी, लागूऔषध छुटाउने डाक्टर हुँ, सुधार केन्द्र जानुपर्ने कुनै कारण छैन।”

    उनको यस्तो दाबीपछि प्रहरीले आफ्नो अडान स्पष्ट पारेको हो। नागरिक न्यूजसँग कुराकानी गर्दै एसपी भट्टराईले भने, “उहाँको मेडिकल रिपोर्टमा गाँजा सेवन प्रमाणित भएको छ। त्यसैले उहाँलाई सुधार केन्द्रमा उपचार गराउने शर्तमा परिवारको जिम्मा लगाइएको हो। अब हामी त्यसको पालना भएको छैन भने परिवारलाई फेरी बोलाएर कारबाही प्रक्रिया अघि बढाउँछौं।”

    एसपी भट्टराईका अनुसार, यो घटनापछि भुसालको दोस्रोपटक गाँजासम्बन्धी विवादमा परेको उल्लेख गर्दै यदि अब सर्त उल्लंघन भएमा कडा कानुनी कारबाही हुने चेतावनीसमेत दिएका छन्।

    “यो दोस्रो पटक हो, यदि परिवारले सर्तअनुसार सुधार केन्द्रमा नपठाएमा कडा कानुनी प्रक्रिया अघि बढाइन्छ,” उनले स्पष्ट पारे।

    यसअघि पक्राउ परेका अन्य ४३ जना भने सामान्य सोधपुछपछि रिहा गरिएको थियो। प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको बताएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend