काठमाडौं : साइबर अपराधसम्बन्धी उजुरीका आधारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा डेढ घण्टा लिखित बयान दिएका छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनअनुसार साइबर ब्यूरोले बस्नेतलाई बुधबार बिहान उपस्थित गराएर लिखित बयान लिएको हो।
ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार बस्नेत बयान दिएर कार्यालयबाट निस्किएका छन्।
“उहाँ बयान दिएर भर्खरै निस्कनु भएको छ। सरकारी वकिल कार्यालयको निर्देशनअनुसार प्रक्रिया अगाडि बढाइएको हो,” प्रवक्ता अवस्थीले भने।
ब्यूरो स्रोतका अनुसार बस्नेतले सरकारी वकिल कार्यालयले तयार पारेका प्रश्नहरूको लिखित रूपमा इन्कारी जवाफ दिएका छन्।
“सरकारी वकिल कार्यालयले हामीलाई तीनवटा टास्क दिएको थियो। तीमध्ये एक — बयानको काम सकिएको छ। बाँकी दुई काम सकिएपछि प्रतिवेदन तयार पारिनेछ,” स्रोतले भन्यो।
उक्त मुद्दामा शोभा पाठकले उजुरी दिएपछि केही समयसम्म अनुसन्धान प्रक्रिया अगाडि नबढेको थियो। तर, हालै जिल्ला सरकारी वकिल कार्यालयले छानबिन गर्न निर्देशन दिएको हो। सोही निर्देशनका आधारमा साइबर ब्यूरोले बस्नेतलाई बयानका लागि बोलाएको हो।
यस घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।
