काठमाडौं : नेपाल पर्यटन बोर्डले हाल नेपाल भ्रमणका लागि जारी विभिन्न मुलुकका ट्राभल एड्भाइजरी (यात्रा सल्लाह) हरू खुकुलो बनाउन आग्रह गरेको छ।
दसैंको अवसरमा बिहीबार साँझ काठमाडौंमा आयोजित ‘Meet and Greet with Diplomatic Corps’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल अहिले पूर्ण रूपमा सुरक्षित र भ्रमणयोग्य अवस्थामा फर्किएको स्पष्ट गरे।
गत भदौ २४ र २५ गते भएको ‘जेनजी आन्दोलन’पछि केही देशका दूतावासहरूले नेपाल भ्रमणमा सतर्कता अपनाउन आ-आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेका थिए। तर, अब स्थिति पूर्ण रूपमा सामान्य अवस्थामा फर्किसकेको सीईओ जोशीको भनाइ छ।
नेपाल सुरक्षित छ: पर्यटन बोर्डको सन्देश
सीईओ जोशीले कार्यक्रममा सम्बोधन गर्दै भने,
“राजनीतिक स्थायित्व, सुरक्षा, यातायात तथा स्वास्थ्य सेवाको पहुँच जस्ता सबै पक्ष सामान्य अवस्थामा फर्किसकेका छन्। जेनजी आन्दोलनपछि तुरुन्तै स्थिति नियन्त्रणमा लिइएको थियो, नयाँ सरकार गठन भइसकेको छ, सुरक्षा संयन्त्रहरू र पर्यटक प्रहरी पुनः सक्रिय भएका छन्।”
उनले ट्राभल एड्भाइजरी खुकुलो बनाएर पर्यटनमैत्री वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रह गरे। साथै, नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मेहमाननवाजी पर्यटन प्रवर्द्धनका बलिया आधार भएको उनले जोड दिए।
राजदूतहरूको सहभागिता, सकारात्मक सन्देश प्रवाहको आग्रह
कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि दूतावास प्रतिनिधिहरूलाई नेपाल भ्रमणको सन्देश आफ्ना देशमा पुर्याउन आग्रह गरे।
उनले भने,
“नेपालको संस्कृति, सम्पदा र अतिथि सत्कारका साथ हामी पर्यटकहरूलाई स्वागत गर्न पूर्ण रूपमा तयार छौँ। तपाईंहरूले आफ्ना सरकार र नागरिकहरूलाई ‘नेपाल खुला र सुरक्षित छ’ भन्ने सन्देश पुर्याइदिनुहोस्।”
१५ देशका प्रतिनिधि सहभागी
विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिका, भारत, इजिप्ट, नर्वे, कतार, मलेसिया, पाकिस्तानलगायत १५ भन्दा बढी देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरू को सहभागिता थियो।
नेपाल सरकारका विभिन्न निकाय – परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, अध्यागमन विभाग तथा पर्यटन व्यवसायीहरू पनि कार्यक्रममा सहभागी थिए।
