काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका केही वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ। जेनजी आन्दोलनपछिको सुरक्षापरिस्थितिको पुनरावलोकन गर्दै काठमाडौं, भक्तपुरपछि ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन्।
ललितपुर प्रहरी प्रमुख रहेका एसएसपी श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ। उनीको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीलाई ल्याइएको छ।
सीआईबीमा बोगटीको स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट एसएसपी शिवकुमार श्रेष्ठलाई खटाइने भएको छ। ललितपुरबाट सरुवा भएका अधिकारीले आफूले सरुवाको जानकारी प्राप्त गरिसकेको र हाल जिम्मेवारी हस्तान्तरणको तयारीमा रहेको जानकारी दिएका छन्।
यसअघि काठमाडौंमा एसएसपी विश्वराज अधिकारी विश्वराज अधिकारीलाई हटाएर रमेश थापालाई जिम्मेवारी दिइएको थियो । त्यसैगरी भक्तपुरमा एसएसपी प्रज्वल महर्जनको पनि सरुवा गरिएको थियो। उपत्यकाको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको यो कदमलाई गृह मन्त्रालयले नियमित प्रशासनिक प्रक्रिया भनेको छ।
