काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा चिरञ्जीवी चटौत सचिवमा बढुवा भएका छन्। चटौत यसअघि सोही मन्त्रालयमा सिनियर सह–सचिवका रुपमा कार्यरत थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत चटौतलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो। उनी मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखाको प्रमुखका रूपमा कार्यरत थिए।
सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त रहेको एक प्राविधिक सचिव पदका लागि चटौतसँगै जगदिश्वर कर्माचार्य र नवीनराज सिंहको नाम सिफारिस गरेको थियो। लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा उक्त सिफारिस गरिएको हो।
पूर्व ऊर्जा सचिव सुरेश आचार्य अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको पदमा चटौतको बढुवा गरिएको हो।
५८ वर्षे उमेर हदका कारण चटौत आगामी असार १५ गतेसम्म मात्र सचिवको जिम्मेवारीमा रहनेछन्।
