२०८३ श्रावण १२ गते मंगलवार

images

धवलागिरि हिमाल चढ्न २४ जनाले लिए अनुमति

धवलागिरि हिमाल चढ्न २४ जनाले लिए अनुमति

सहर्ष न्युज
मंगलवार, आश्विन ७ २०८२
सहर्ष न्युज
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल चढ्न २४ जनाले अनुमति लिएका छन्। विश्वको सातौं (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्छ। २४ जना पर्वतारोहीले धवलागिरि हिमाल चढ्न अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

    विभागका अनुसार धवलागिरि चढ्न अनुमति लिएकाबाट ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ। शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल चढ्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ।

    अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ। विभागले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल चढ्न तीन सय ७४ जनाले अनुमति लिएका छन्।

    शरदयामका आरोहीको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ। चढ्ने अनुमति लिनेको संख्यामा धवलागिरि दोस्रो स्थानमा छ। आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि गाउँपालिका-४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताए।

    यसपालि चढ्ने टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन्। धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन्।

    गत वसन्तयाममा दुई समूहका १५ जनाले चढ्ने अनुमति लिएबापत ३६ लाख ९१ हजार २६० रुपैयाँ राजस्व संकलन भएको थियो। सन् २०२४ को शरदयाममा एक समूहका १४ जना पुरुष पर्वतारोहीले चढ्ने अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो।

    छिनछिनमा बदलिने मौसम धवलागिरि चढ्ने चुनौती हो। अन्य हिमालको तुलनामा धवलागिरि चढ्न जोखिमयुक्त र साहसिक मानिन्छ। सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलो पटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए। डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलो पटक धवलागिरिको चुचुरोमा पुगेका थिए। रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend