२०८३ भाद्र २८ गते आइतवार

images

म्याग्दीका तीन जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा, १०७.३ मेगावाट विद्युत् थपियो

म्याग्दीका तीन जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा, १०७.३ मेगावाट विद्युत् थपियो

सहर्ष न्युज
शुक्रवार, आश्विन ३ २०८२
सहर्ष न्युज
शुक्रवार, आश्विन ३ २०८२
  • म्याग्दी, रघुगङ्गा : धौलागिरी हिमालको फेदी हुँदै बग्ने राहुघाट र यसको सहायक नदीमा निर्माण सम्पन्न भएका तीन जलविद्युत् आयोजनाबाट कुल १०७.३ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

    हालै मात्र निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका अपर राहुघाट जलविद्युत् आयोजना (४८.५ मेगावाट), चिमखोला–राहुघाट–मंगले जलविद्युत् आयोजना (३७.५ मेगावाट)ठूलोखोला जलविद्युत् आयोजना (२१.३ मेगावाट) सफलतापूर्वक ग्रिडमा जोडिएका हुन्। यी सबै आयोजना रघुगङ्गा गाउँपालिका भित्रका हुन्।

    ‘अपर राहुघाट’ र ‘चिमखोला–राहुघाट–मंगले’ आयोजना तुँदी हाइड्रोपावर लिमिटेड द्वारा निर्माण गरिएका हुन् भने ‘ठूलोखोला जलविद्युत् आयोजना’ संयुक्त ऊर्जा लिमिटेड द्वारा निर्माण गरिएको हो।

    २०७७ सालदेखि निर्माण सुरु भएको अपर राहुघाट जलविद्युत् आयोजना ले बुधबार विश्वकर्मा पूजाको दिनबाट परीक्षण उत्पादन सुरु गरेको छ। आयोजनाका प्रमुख इन्द्र ढकालका अनुसार बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन, स्विचयार्ड निर्माण लगायत सबै आन्तरिक परीक्षण सकिएपछि आयोजनाले परीक्षण उत्पादन सुरु गरेको हो।

    यो आयोजनाको बाँध रघुगङ्गा–७ चिमखोला मा र विद्युतगृह वडा नं. ४ दग्नामको फेदी मा अवस्थित छ। आयोजनामा करिब ४,९०० मिटर लामो सुरुङ६८० मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिएको छ।

    यसअघि नै तुँदी पावरले निर्माण गरेको ३७.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले आयोजना ले गत असारदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। यस्तै, संयुक्त ऊर्जा लिमिटेड को २१.३ मेगावाट क्षमताको ठूलोखोला आयोजना ले गत भदौदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ।

    यतिबेला राहुघाट नदीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट आयोजना२२.५ मेगावाटको माथिल्लो ठूलोखोला आयोजना पनि अन्तिम चरणमा पुगेका छन्।

    रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी का अनुसार यी आयोजनाले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढाएको छ। साथै, आयोजनाबाट विद्युत् रोयल्टी प्राप्त भएसँगै पालिकाको विकासमा समेत गति आएको उहाँले जानकारी दिनुभयो।

    उत्पादित विद्युत् रघुगङ्गा–३ तिल्केनीचौरस्थित राहुघाट आयोजनाको स्विचयार्ड मार्फत अस्थायी रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

    स्थानीय साझेदारी, समयमै निर्माण सम्पन्न र सञ्चालनमा आएको यी आयोजनाले म्याग्दी जिल्लाको ऊर्जा विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend