मुख्य निर्णयहरू
असोज १ गते शोक दिवस — सार्वजनिक बिदा
सहादत प्राप्तलाई सहिद घोषणा, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि
मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति + ५ लाख अतिरिक्त सहयोग
घाइतेको निःशुल्क उपचार, शव व्यवस्थापनमा हेलिकप्टरसमेत
जनधन क्षति र ज्यादतीबारे जाँचबुझ आयोग गठन
‘जेन–जी जागरण स्मारक पार्क’ निर्माण
काठमाडौँ : जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा सरकारले असोज १ गते (बुधबार) शोक दिवस मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिइनेछ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार मन्त्रिपरिषद् बैठकपछि जानकारी दिँदै भने, "आन्दोलनमा साहदत प्राप्त गर्ने सबैलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ। साथै, उनीहरूको सम्झनामा असोज १ मा शोक दिवस मनाइनेछ।"
साहदत प्राप्त परिवारलाई राहत प्याकेज
सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउनेका परिवारलाई आर्थिक राहतस्वरूप १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। साथै, शव व्यवस्थापनका लागि ५ लाख रुपैयाँ अतिरिक्त सहयोग दिइनेछ।
-
घाइतेको निःशुल्क उपचार
-
शव व्यवस्थापनका लागि निःशुल्क सवारी तथा दुर्गम क्षेत्रमा हेलिकप्टर
-
आवश्यक सम्पूर्ण खर्च राज्यले व्यहोर्ने
गृहमन्त्री अर्यालका अनुसार, "घटनामा परिवारका सदस्य गुमाउने पीडितहरूलाई राज्यको तर्फबाट उच्च सम्मानका साथ राहत उपलब्ध गराइनेछ।"
जनधनको क्षति र ज्यादतीबारे छानबिन आयोग गठन
भदौ २३ र २४ गते भएका आन्दोलनका क्रममा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको विषयमा छानबिन गर्न विशेष जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
"छानबिन आयोगको प्रतिवेदनको आधारमा सरकारले आगामी थप कदम चाल्नेछ," गृहमन्त्री अर्यालले स्पष्ट पारे।
जेन–जी स्मारक पार्क निर्माण गर्ने निर्णय
सरकारले आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूका नाममा ‘जेन–जी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय गरेको छ। स्मारकमार्फत आन्दोलनको इतिहास र योगदानलाई पुस्ता–पुस्तासम्म सम्झाउने उद्देश्य लिइएको जनाइएको छ।
नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा विस्तार भएको मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार बसेको थियो। उक्त बैठकले जेन–जी आन्दोलनसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय गर्दै पीडितप्रति संवेदनशीलता प्रदर्शन गरेको छ।
