२०८३ भाद्र २८ गते आइतवार

images

सञ्जीव बराल तीन वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय सिँचाइ तथा निकास आयोगको उपाध्यक्षमा निर्वाचित

सञ्जीव बराल तीन वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय सिँचाइ तथा निकास आयोगको उपाध्यक्षमा निर्वाचित

सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
  • क्वालालम्पुर, मलेसिया : मलेसियाको क्वालालम्पुरमा सम्पन्न चौथो विश्व सिँचाइ सम्मेलन तथा ७६औं अन्तर्राष्ट्रिय कार्यकारी परिषद् बैठकले नेपाल सरकारका सहसचिव इञ्जिनियर सञ्जीव बराललाई अन्तर्राष्ट्रिय सिँचाइ तथा निकास आयोग (ICID) को उपाध्यक्ष पदमा तीन वर्षे कार्यकालका लागि निर्वाचित गरेको छ।

    बरालसँगै स्पेनकी क्रिस्टिना क्लेमेंते मार्टिनेज र नाइजेरियाकी इञ्जिनियर एस्टर ओयेरोनके ओलुनियी पनि उपाध्यक्ष पदमा चयन भएका छन्। आयोगमा कूल ९ जना उपाध्यक्ष रहने व्यवस्था छ, र हरेक वर्ष ३ जना नयाँ उपाध्यक्ष चयन गरिन्छन्।

    बरालको समृद्ध पृष्ठभूमि र अनुभव

    इञ्जिनियर बराल हाल जलस्रोत तथा ऊर्जा आयोग सचिवालय अन्तर्गतको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रमा सहसचिवका रूपमा कार्यरत छन्। उनी पूर्वमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक, बागमती प्रदेशका सचिव, ऊर्जा मन्त्रालयका वरिष्ठ इञ्जिनियर, बुढीगंगा जलविद्युत् परियोजना र भेरी–बबई बहुउद्देश्यीय आयोजनाका निर्देशकलगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

    बरालसँग १८ वर्षभन्दा बढीको अनुभव जलविद्युत्, सिँचाइ र जलस्रोत क्षेत्रमा छ। उनी नेपाल विद्युत् प्राधिकरण, बुटवल पावर कम्पनी, विद्युत् विकास विभाग, र जलविद्युत् लगानी तथा विकास कम्पनीमा पनि कार्यरत भइसकेका छन्।

    शैक्षिक पृष्ठभूमि र पुरस्कार

    • स्नातकोत्तर: पुल्चोक इन्जिनियरिङ क्याम्पस, जलस्रोत इञ्जिनियरिङ

    • कार्यकारी एमबीए: पोखरा विश्वविद्यालय

    • हाल विद्यावारिधिमा अध्ययनरत: पुल्चोक क्याम्पस, जलस्रोत योजना तथा व्यवस्थापन

    • फेलोशिप: Hubert H. Humphrey Fellowship, कोर्नेल विश्वविद्यालय (२०१६–१७)

    • सम्मान: सुप्रबल जनसेवा श्री पदक, नेपाल इञ्जिनियर्स संघको युवा पेशागत पुरस्कार २०१२

    ICID मा नेपालको सक्रियता

    नेपाल सन् २००० (वि.सं. २०५७) देखि ICID को सदस्य राष्ट्र हो। नेपाल राष्ट्रिय समिति (NeNCID) मार्फत नेपालले आयोगका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। बराल यसअघि NeNCID का अध्यक्ष र ICID को एसियाली क्षेत्रीय कार्यसमूह (ASRWG) का सदस्य समेत रहिसकेका छन्।

    बरालद्वारा प्रस्तुत प्रमुख प्रतिबद्धता

    ICID उपाध्यक्षको रूपमा आफ्नो कार्यकालमा इञ्जिनियर बरालले निम्न प्रतिबद्धता सार्वजनिक गरेका छन्:

    दिगो सिँचाइ तथा निकासी प्रणालीका लागि विश्वव्यापी सहकार्य सुदृढ गर्ने

    जल उपयोग दक्षताजलवायु–स्मार्ट सिँचाइ प्रवर्द्धन गर्ने

    किसान तथा समुदाय–आधारित सिँचाइ प्रणालीलाई सशक्त बनाउने

    नीति र कार्यान्वयनबीचको दूरी घटाउने

    युवा संलग्नता र क्षमताविकासमा केन्द्रित कार्यक्रम अघि बढाउने

    राष्ट्रिय समितिहरूको भूमिका मजबुत बनाउने

    ICID का बारेमा

    सन् १९५० मा स्थापना भएको अन्तर्राष्ट्रिय सिँचाइ तथा निकास आयोग (ICID) ले विश्वव्यापी सिँचाइ, निकासी र बाढी व्यवस्थापनका क्षेत्रमा नीति, विज्ञान, प्रविधि र अभ्यासलाई जोड्ने साझा मञ्चको रूपमा कार्य गर्दै आएको छ।
    ICID को माध्यमबाट सदस्य राष्ट्रहरूले जल तथा खाद्य सुरक्षा, जलवायु अनुकूलता, र दिगो ग्रामीण विकासका लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend