२०८३ भाद्र २७ गते शनिवार

images

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति, २६ वटा गाडी जले

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति, २६ वटा गाडी जले

सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
  • चितवन । जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा दुई अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको आकलन गरिएको छ। यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै प्रारम्भिक रुपमा दुई अर्ब रूपैयाँभन्दा बढीको क्षति आकलन गरिएको छ। प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकाको कार्यालय आगलागीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ। महानगरको स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति पुगेको छ।

    पौडेलका अनुसार २६ वटा गाडी, पाँचवटा मोटरसाइकल र एउटा स्कुटर जलेर नष्ट भएका छन्। जलेका गाडीमध्ये दुई वटा दमकल, एउटा ग्रेडर, दुई वटा कम्प्याक्टर, एउटा ब्रुमर, पानी बोक्ने गाडी एक र सेफ्टी ट्यांकी सफाई गाडी एउटा रहेका छन्।

    महानगरपालिकाका गाडी मध्ये प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी बाहिर राखिएकाले सुरक्षित रहेका छन्। त्यस्तै दुईवटा जेसिवि, एउटा कम्प्याक्टर, एउटा दमकल र एउटा ट्याक्टर सुरक्षित रहेको उनले जानकारी दिए।

    महानगरपालिकाका बरिष्ठ शाखा अधिकृत झलककुमार श्रेष्ठका अनुसार स्टोरमा रहेका के कति सामान जलेका छन् भन्ने बारेमा तथ्यांक लिने काम भइरहेको छ। कार्यालयमा प्रयोग हुने फर्निचर, कम्युटर, टेलिभिजन, इन्भर्टर, ब्याट्री, कागजपत्रलगायतका सामग्री जलेर नष्ट भएका छन्। उनका अनुसार महानगरवासीलाई वितरणका लागि ल्याइएको दुई हजार थान विद्युतीय चुल्हो जलेर र चोरी भएका छन्।

    यसका अतिरिक्त अन्य सामग्रीहरु समेत चोरी भएका छन्। महानगरपालिका जलाउने र तोडफोड गर्ने समूहले महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको घर समेत जलाएर पूर्णरुपमा क्षति पुर्‍याएका छन्। यस्तै महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीको घर जलाउने र लुटपाट भएको छ।

    प्रमुख प्रशासकीय अधिकृत पौडेलले सेवाग्राहीहरुका सिफारिस र अत्यावश्यक काम आजैबाट गर्न लागिएको बताए। जे सकिन्छ ती सेवाहरु दिन थालेको उनले बताए। क्षतिको मूल्यांकन गरेर मर्मत थालिने उनले बताए। रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend