काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठ अस्वस्थ भएपछि हाल गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत छिन्।
हृदयसम्बन्धी समस्या देखिएपछि श्रेष्ठलाई हिजोदेखि अस्पतालमा भर्ना गरिएको हो। प्रदेश सांसद कैलाश चौधरीका अनुसार अध्यक्ष श्रेष्ठको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको छ।
उनीमाथि अघिल्लो वर्ष पनि मुटुको शल्यक्रिया गरिएको थियो। हाल चिकित्सकहरूको निगरानीमा राखेर उनको आवश्यक उपचार भइरहेकाे छ।
श्रेष्ठको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ। पार्टीले अध्यक्ष श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समर्थक तथा शुभेच्छुकलाई संयमता अपनाउन आग्रह गरेको छ।
