काठमाडौं : गृहमन्त्री रमेश लेखकको नेतृत्वमा गृह मन्त्रालयले पाँच वर्षयताकै उत्कृष्ट नतिजा हासिल गर्दै सरकारका माइलस्टोन कार्यप्रगतिमा पहिलो स्थान हासिल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२)’ अनुसार गृह मन्त्रालयले गत आर्थिक वर्षका लागि तोकिएका कार्यमध्ये ८८ प्रतिशत माइलस्टोन सम्पन्न गर्दै शीर्ष स्थानमा रहेको हो।
१०६ मध्ये ९३ माइलस्टोन पूरा
गृह मन्त्रालयले शासकीय सुधार सम्बन्धी १०६ माइलस्टोनमध्ये ९३ वटा कार्य पूरा गरेको छ भने बाँकी १३ कार्य चालु आर्थिक वर्षमा अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।
दोस्रो स्थानमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ प्रतिशत माइलस्टोन पूरा गरेको छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७८ प्रतिशत कार्य प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ।
विगतका वर्षको तुलनामा उच्च प्रगति
विगत आर्थिक वर्षहरूमा गृह मन्त्रालयको माइलस्टोन प्रगति यस्तो थियो:
-
२०७७/७८ – ८६.८ प्रतिशत
-
२०७८/७९ – ६४.५ प्रतिशत
-
२०७९/८० – ६९.१ प्रतिशत
-
२०८०/८१ – ६८ प्रतिशत
यो वर्ष भने ८८ प्रतिशत प्रगतिसहित मन्त्रालयले पाँच वर्षयताकै उच्च सफलता हात पारेको हो।
प्रमुख सुधार र अभियान
गृहमन्त्री लेखकको नेतृत्वमा मन्त्रालयले नीति तथा कानूनी सुधार, व्यवस्था विरोधी गतिविधिमा नियन्त्रण, अपराध अनुसन्धान र फैसला कार्यान्वयन, प्रहरी सेवामा सुधार, लागूऔषधविरुद्धको महाअभियान, विपद् व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, राजस्व चुहावट तथा सीमापार अपराध नियन्त्रणजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति गरेको हो।
त्यस्तै अध्यागमन प्रणाली सुधार, परिचयपत्र व्यवस्थापन तथा निःशुल्क हेलिकप्टर उद्दारजस्ता कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेर अघि बढाएको छ।
सरकारले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन अन्तर्गतका माइलस्टोनलाई शासकीय, पूर्वाधार, आर्थिक र सामाजिक गरी चार क्षेत्रमा वर्गीकृत गर्दै मूल्यांकन गरेको हो।
गृह मन्त्रालयको यो प्रगति लेखक नेतृत्वको सक्रियता र योजनाबद्ध कार्यशैलीको परिणामका रूपमा हेरिएको छ।
