बर्दिवास, महोत्तरी : महिला उद्यमी महासंघ नेपालकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले मधेश प्रदेशका महिला विभिन्न क्षेत्रमा सक्रिय हुँदै आत्मनिर्भरता तर्फ उन्मुख भइरहेका बताएकी छन्। शुक्रबार बर्दिवासमा आयोजित मधेश प्रदेश कमिटीको चयन कार्यक्रममा बोल्दै उनले महिला उद्यमीको संख्यामा उल्लेखनीय वृद्धि भइरहेको उल्लेख गरिन्।
“दुई–तीन वर्षअघि यस्ता कार्यक्रममा महिलाको उपस्थिति न्यून हुन्थ्यो, अहिले महिलाहरूको उपस्थिति र सहभागिता हेर्दा लाग्छ, उनीहरू सचेत र जागरूक भइसकेका छन्,” अध्यक्ष ज्ञवालीले भनिन्, “राज्यले थोरै साथ दिए उनीहरूले आफ्नै व्यवसाय सुरु गरेर आत्मनिर्भर बन्न सक्छन्।”
उत्पादनबाट बजारसम्म महिलाको उपस्थिति
ज्ञवालीका अनुसार मधेशका महिलाहरूले स्थानीय उत्पादनलाई देशका विभिन्न ठाउँमा लैजाने प्रयास गरिरहेका छन्। “महासंघको उद्देश्य नै महिलालाई आर्थिक रूपमा सबल बनाउनु हो। त्यसैले हामी उत्पादनलाई बजारसम्म पुर्याउने अभियानमा लागिरहेका छौं,” उनले भनिन्।
उनले हिमाल, पहाड र तराईबीचको उत्पादन र व्यापारलाई जोड्ने लक्ष्य रहेको जानकारी दिँदै भनिन्, “हामी हिमालमा उत्पादित सामग्री पहाडमा, पहाडको सामग्री मधेशमा बिक्री गरेर सम्पूर्ण क्षेत्रका महिलालाई व्यवसायप्रति आकर्षित गर्न चाहन्छौं।”
महिलाको आर्थिक सशक्तिकरण अपरिहार्य
अध्यक्ष ज्ञवालीले महिलाको आर्थिक सशक्तिकरणबिना सामाजिक परिवर्तन सम्भव नरहेको स्पष्ट पारिन्। “जबसम्म महिलाहरू आर्थिक रूपमा सक्षम हुँदैनन्, तबसम्म उनीहरू दबिएर बस्न बाध्य हुन्छन्। त्यसैले व्यवसायमा लाग्न जरुरी छ,” उनले भनिन्।
राज्यले पनि महिलाहरूको उद्यमशिलताका लागि ५ लाखदेखि २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण व्यवस्था गरेको जानकारी दिँदै ज्ञवालीले भनिन्, “व्यवसायको योजना बनाई प्रस्ताव तयार पार्नुपर्छ। महासंघले त्यसमा पूर्ण सहयोग गर्छ।”
स्थानीय सरकारको प्रतिबद्धता
कार्यक्रमका विशिष्ट अतिथि बर्दिवास नगरपालिकाका प्रमुख पहलाद क्षेत्रीले महिला उद्यमीहरूलाई आर्थिक सहयोग गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। “अघिल्लो आर्थिक वर्षमा पनि हामीले सहयोग गरेका थियौं। आगामी दिनमा पनि उद्यमशील महिलाहरूको साथमा नगरपालिका रहनेछ,” क्षेत्रीले प्रतिबद्धता जनाए।
प्रेरणादायी अनुभव र नयाँ नेतृत्व
कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रदेश सचिव सुनैना ठाकुरले आफूलाई व्यवसायमा लाग्न महिला उद्यमी महासंघले उत्प्रेरणा दिएको बताइन्। “९ वर्षअघि काठमाडौंमा आयोजित महिला उद्यमी मेलामा सहभागी भएपछि मैले व्यवसायमा लाग्ने प्रेरणा पाएको थिएँ,” उनले स्मरण गरिन्।
उनले महिलाले घरमा गरेको कामको मूल्यांकन नभएको भन्दै आर्थिक उपार्जनमार्फत आत्मसम्मान बढाउनुपर्ने धारणा राखिन्।
नयाँ नेतृत्वको चयन
शुक्रबार गठन गरिएको ९ सदस्यीय प्रदेश कमिटीमा देवकुमारी (सविना) अध्यक्ष, चन्चला दास उपाध्यक्ष, सुनैना ठाकुर सचिव, जानुका चौलागाईं कोषाध्यक्षमा चयन भए। सदस्यमा प्रतिमा कोइराला, संगमकुमारी गोले, लिला ठाकुर, पार्वती चौधरी र निभा दास रहेका छन्।
नवगठित कमिटीलाई अध्यक्ष शोभा ज्ञवालीले पद तथा गोपनीयताको सपथ गराएकी थिइन्। नयाँ अध्यक्ष देवकुमारीले महिलालाई उद्यममा जोड्न आफू प्रतिवद्ध रहने बताइन्। “म पहिले पनि महिलालाई आत्मनिर्भर बनाउने अभियानमा थिएँ, अब अझै व्यापक रूपमा काम गर्नेछु,” उनले भनिन्।
