काठमाडौं : यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘मिरमिरे’ को छायांकन कार्य सकिएको छ। करिब ३५ दिनमा छायांकन पूरा गरिएको चलचित्रको एक गीत मात्रै छायांकन गर्न बाँकी रहेको निर्माण टिमले जनाएको छ।
निर्देशक शेर्पाका अनुसार अब बाँकी गीतको छायांकन समय अनुकूल पारेर सम्पन्न गरिनेछ। “मुख्य छायांकन सकिएको छ, अब एउटा गीतको मात्र छायांकन बाँकी छ,” निर्देशक शेर्पाले बताए।
‘मिरमिरे’ आउँदो माघ १ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। केही दिनअघि नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर निर्माण टिमले चलचित्रको रिलिज मिति सार्वजनिक गरेको हो।
यार्सा फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतको अभिनय देख्न पाइनेछ। बालकलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।
चलचित्रको छायांकन काभ्रेपलाञ्चोक र मकवानपुरको चित्लाङ लगायतका मनोरम स्थानहरूमा गरिएको हो। चलचित्रको कथा तथा निर्देशन यम शेर्पाकै रहेको छ भने छायांकन आलोक शुक्लाले गरेका हुन्।
‘मिरमिरे’ का निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह-निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। चलचित्रका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालकसमेत रहेका रोहित कट्टेल हुन्।
यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् भने सञ्जु थलाङ लिम्बूले मेकअपको जिम्मेवारी सम्हालेका छन्। निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।
‘मिरमिरे’ को देशभर वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।
