२०८३ भाद्र २८ गते आइतवार

images

नक्कली हाकिम, नक्कली कार्यालय तर वास्तविक पैसा : चीनमा बेरोजगार युवा के गर्छन् ?

नक्कली हाकिम, नक्कली कार्यालय तर वास्तविक पैसा : चीनमा बेरोजगार युवा के गर्छन् ?

सहर्ष न्युज
सोमवार, श्रावण २७ २०८२
सहर्ष न्युज
सोमवार, श्रावण २७ २०८२
  • काठमाडौ । बिना तलब कसले काम गर्न चाहन्छ, अझ त्यस्तो जागिरका लागि उल्टै पैसा तिर्नुपर्ने भयो भने ?

    चीनमा जागिर गरेजस्तो देखिनका लागि कम्पनीलाई पैसा तिर्ने चलन बेरोजगार युवाहरूमाझ लोकप्रिय हुँदै गएको छ। यस्तो सेवा दिने कम्पनीहरूको बढ्दो सङ्ख्याले पनि यसको लोकप्रियता देखाउँछ।

    चीनको सुस्त अर्थतन्त्र र नाजुक रोजगारी बजारको अवस्थाबीच यो विकासक्रम देखा परेको हो। साँच्चिकैको जागिर पाउन थप कठिन बन्दै गइरहेका समयमा मानिसहरू घरमै बस्न भन्दा कार्यालय जानका लागि पैसा तिरिरहेका छन्।

    तीस वर्षका शुइ झाओको खाद्य व्यवसाय गत वर्ष बन्द भयो। त्यसपछि बेरोजगार रहेका उनी यो वर्षको एप्रिलबाट दैनिक ३० युआन तिरेर एउटा नक्कली अफिस जान थालेका छन्। काम गरेको नक्कल गर्ने 'प्रिटेन्ड टू वर्क' नाम दिइएको यो कम्पनी हङकङबाट ११४ किलोमिटर उत्तरमा पर्ने चीनको डोङ्गुआन सहरमा छ।

    त्यो नक्कली कार्यालयमा काम गर्ने नक्कली कर्मचारी उनी एक्लो छैनन्। त्यहाँ उनी जस्तै पाँच जना 'सहकर्मी' छन्।

    "मलाइ यहाँ खुशी लाग्छ। समूहमा मिलेर काम गरिरहेजस्तो महसुस हुन्छ," झाओ भन्छन्।

    शेन्जेन, शाङ्घाई, नान्जिङ, वुहान, चेङ्दु र कुनमिङ जस्ता चीनका ठूला सहरहरूमा यस्ता सेवा सञ्चालन हुने क्रम बढिरहेको छ। झट्ट हेर्दा यी कार्यालयहरू मानिसहरूले काम गरिरहेका कार्यस्थल जस्तै देखिन्छन्। कम्प्युटर, इन्टरनेट सुविधा, बैठक कोठा र चिया कोठासम्मको सुविधा यहाँ दिइएको हुन्छ।

    यहाँका नक्कली कर्मचारीहरू दिन कटाउन मात्रै आउँदैनन् यहाँका कम्प्युटर प्रयोग गरेर रोजगारी खोज्न वा आफ्नै स्टार्ट-अप व्यवसाय सुरु गर्ने जस्ता काम पनि गर्छन्। कहिलेकाहीँ यस्ता कार्यालयको दैनिक शुल्क ‍३० देखि ५० युआनसम्म पर्छ। त्यसमा दिउँसोको खाना, नास्ता र पेय पदार्थको सुविधा पनि दिइन्छ।

    यस्ता ठाउँको लोकप्रियता बढ्नुको कारण चीनमा युवा बेरोजगारी दर बढेर १४ प्रतिशतभन्दा माथि पुग्नु पनि हो। यसको अर्थ राम्रो योग्यता भएका विश्वविद्यालयबाट स्नातक गरेकाहरूलाई समेत जागिर पाउन कठिन छ। आधिकारिक तथ्यांकअनुसार, यस वर्ष रोजगारी बजारमा प्रवेश गर्ने स्नातकहरूको सङ्ख्या १ करोड २२ लाख पुग्ने अनुमान छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो।

    न्यूजील्यान्डको भिक्टोरिया युनिभर्सिटी अफ वेलिङ्टनको स्कुल अफ म्यानेजमेन्टका वरिष्ठ प्राध्यापक डा. क्रिस्टियन याओ चिनियाँ अर्थतन्त्रबारे विज्ञ हुन्।

    "काम गरिरहेको जस्तो देखाउने प्रवृत्ति अहिले धेरै सामान्य भइसकेको छ," उनी भन्छन्।

    "आर्थिक रूपान्तरण र शिक्षा तथा रोजगारी बजारबीचको असमानताका कारण युवाहरूलाई आफ्नो आगामी कदमबारे सोच्न वा एउटा काम देखि अर्को कामबीचको सङ्क्रमणकालमा फरक खाले काम गर्न यस्ता स्थान आवश्यक पर्छन्।"

    "काम गरेजस्तो नक्कल गर्ने सुविधा भएका कार्यालयहरू सङ्क्रमणकालीन समाधानका उपायहरूमध्ये एक हुन्," उनी थप्छन्।

    चीनको सामाजिक सञ्जाल सियाओहोङसु चलाउँदै गर्दा झोउले 'प्रिटेन्ड टु वर्क कम्पनी' बारे थाहा पाएका थिए। त्यहाँको कार्यालयमा काम गर्ने माहौलले आफूमा आत्मअनुशासन बढाएको महसुस भएको उनी बताउँछन्। उनी त्यहाँ जान सुरु गरेको तीन महिनाभन्दा बढी समय भइसकेको छ।

    झाओले कार्यालयका तस्बिर आफ्ना आमाबुबालाई पनि पठाएका थिए। उनीहरूले पनि उनको बेरोजगारीको अवस्थालाई सहजै लिएको उनी सुनाउँछन्।

    यो कार्यालयमा आउने र फर्कने समयमा कुनै नियम छैन। तर पनि झाओले अनुशासन कायम गरेका छन्। उनी प्रायः बिहान ८ देखि ९ बजेभित्र कार्यालय पुग्छन्। कहिलेकाहीँ राति ११ बजेसम्म त्यहीँ बस्छन्। कार्यालय सञ्चालक घर फर्कने बेला भएपछि मात्रै उनी बाहिरिन्छन्।

    उनका अनुसार त्यहाँ आउने अरू मानिसहरू पनि अहिले उनका साथीजस्तै भइसकेका छन्। जागिर खोज्ने लगायतका काममा व्यस्त हुँदा त्यहाँ सबैले कडा मेहनत गरिरहेका हुन्छन्। अनि जब उनीहरू फुर्सदमा हुन्छन् त्यहाँ गफ, ठट्टा चल्छ र उनीहरू खेल पनि खेल्छन्। कहिलेकाहीँ आफ्नो काम सकेपछि उनीहरू साँझको खाना खान पनि सँगै जान्छन्।

    समूह बनाउन मन पराउने झाओ यहाँ आउन थाल्नु भन्दा अघि भन्दा अहिले आफूले खुशी महसुस गर्न थालेको बताउँछन्।

    ४० प्रतिशत ग्राहक 'स्नातक गरेका'

    शाङ्घाईकी सियाओवेन ताङले यो वर्षको सुरुमा 'प्रिटेन्ड टू वर्क कम्पनी'लाई एक महिनाका लागि आफ्नो कार्यस्थल बनाइन्। गत वर्ष विश्वविद्यालय स्नातक गरेकी २३ बर्सिया ताङले अहिलेसम्म पूर्णकालीन रोजगारी पाएकी छैनन्।

    उनको विश्वविद्यालयको एउटा अलिखित नियम छ। स्नातक भएको एक वर्षभित्र विद्यार्थीले जागिर पाएको सम्झौता वा प्रशिक्षार्थी जागिरको प्रमाण पेस नगरे प्रमाणपत्र पाइँदैन।

    ताङले विश्वविद्यालयलाई प्रशिक्षार्थीका रूपमा काम गरेको प्रमाणका रूपमा उक्त कार्यालयको दृश्य पठाइन्। तर वास्तवमा उनले त्यहाँ प्रशिक्षार्थी जागिर पाएकी थिइनन्। उनी त दैनिक शुल्क तिरेर मात्रै त्यो कार्यालयमा बस्न पाउँथिन्। त्यहाँ बसेर अनलाइन उपन्यास लेख्थिन् र त्यसबाट उनलाई केही खर्चको जोहो चाहिँ हुन्थ्यो।

    "नक्कली नै गर्नु परेपछि ढुक्कसँग गर," ताङ भन्छिन्।

    डोङगुआन सहरस्थित 'प्रिटेन्ड टू वर्क कम्पनी'का सञ्चालक, ३० वर्षीय 'फेइयु' (परिवर्तित नाम) हुन्।

    "म कार्यस्थल मात्रै बिक्री गरिरहेको छैन काम नभएको मान्छेको सम्मानलाई पनि ठाउँ दिइरहेको छु," उनी भन्छन्।

    उनी आफैँ पनि कोभिड महामारीका कारण उनले चलाएको खुद्रा व्यवसाय बन्द भएपछि बेरोजगार बनेका थिए।

    "म अत्यन्तै निराश भएँ आफैँलाई अन्त्य गर्ने सोच पनि आउन थालेको थियो," उनी सम्झन्छन्। "तपाईँलाई कहिलेकाहीँ परिस्थिति बदल्न शक्तिहीन महसुस हुन्छ।"

    गएको एप्रिलमा उनले 'प्रिटेन्ड टू वर्क'को विज्ञापन सुरु गरे। एक महिनामै उनका सबै कार्यस्थल भरिए। अब यो कार्यालयमा नयाँ आउनेहरूले सहजै ठाउँ पाउँदैनन्। त्यसका लागि आवेदन दिनुपर्छ।

    फेइयुका अनुसार उनका ४० प्रतिशत ग्राहकहरू विश्वविद्यालयबाट स्नातक गरेकाहरू छन्। उनीहरू आफ्नो क्याम्पसमा प्रशिक्षार्थीको रूपमा काम गरेको प्रमाण पेस गर्न त्यहाँ आउँछन् र फोटो पनि खिच्छन्। सानो सङ्ख्याका युवाहरू चाहिँ आफ्ना आमाबुवाको दबाव छल्न त्यहाँ आउँछन्।

    बाँकी ६० प्रतिशत 'फ्रिल्यान्सर्स' छन्। जसमध्ये धेरैजसो डिजिटल नोम्याड छन् र उनीहरू ठूला ई–कमर्स कम्पनीमा काम गर्ने र साइबरस्पेस लेखकहरू पर्छन्। उनले बनाएको कार्यालयमा काम गर्न आउने मानिसहरूको औसत उमेर करिब ३० वर्ष हाराहारी छ र सबैभन्दा कम उमेरका मानिसहरू २५ वर्षका छन्।

    यस्ता कामदारहरूलाई लचक वातावरणमा काम गर्ने 'फ्लेक्जिबल इम्प्लोइमेन्ट प्रोफेसनल्स' भनेर चिनिन्छ। यो समूहमा 'राइड हेलिङ्' भनिने आफ्नो सवारी साधनमा भाडामा मानिस चढाउनेहरू पनि पर्छन्।

    दीर्घकालीन रूपमा आफ्नो व्यवसाय नाफामूलक रहिरहनेमा फेइयुको आशङ्का छ। उनी यसलाई सामाजिक प्रयोगको रूपमा पनि हेर्छन्।

    "यसले सम्मानका लागि झूटको सहयोग लिन्छ, तर यसले केही मानिसलाई सत्यसम्म पुग्न पनि सहयोग गर्छ," उनी भन्छन्।

    "उनीहरूको नक्कली कार्यस्थललाई वास्तविक कार्यालयको आरम्भिक बिन्दुमा बदल्न सके मात्र यो सामाजिक प्रयोगले आफ्नो वाचा पूरा गर्न सक्छ।"

    झाओ अहिले आफ्नो अधिकांश समय एआई सीप सुधार्नमा खर्च गरिरहेका छन्। उनका अनुसार अहिले केही कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्दा एआईको दक्षता खोज्न थालेका छन्।

    त्यसैले, एआईको सीप भएको अवस्थामा पूर्णकालीन जागिर पाउन "अझ सजिलो हुने" उनको विश्वास रहेको समाचार बीबीसीले लेखेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend