भक्तपुर । भक्तपुरको च्यामासिंह–ताथली–नाला सडकको जिर्ण अवस्थाप्रति आक्रोश जनाउँदै स्थानीयवासीले सडकमै केराको बोट रोपेर सांकेतिक विरोध गरेका छन्।
अरनिको राजमार्गको वैकल्पिक विकल्पका रूपमा लिइने उक्त सडक बनेपा, नाला, ताथली हुँदै च्यामासिंह पुग्छ। पछिल्लो समय दैनिक हजारौं सवारी साधन चल्ने यो सडकको अवस्था अत्यन्तै नाजुक बनेको छ। तर, सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि स्थानीयले विरोधमा उत्रिएका हुन्।
चाँगुनारायण नगरपालिका–९ मा पर्ने ताथलीस्थित रामसीता मन्दिर क्षेत्रको सडक नगरपालिकाले ढलान गरेको भए पनि काम अधुरो छोडिएको छ। सडकको खाल्डाखुल्डी, धुलो र हिलोका कारण सवारी दुर्घटना र जामको जोखिम उच्च भएपछि स्थानीय दक्षिणकाली युवा समूहले हस्ताक्षर संकलन अभियानसहित विरोध कार्यक्रम सुरु गरेको हो।
समूहका अध्यक्ष सुरेशराज गिरीका अनुसार रामसीता मन्दिर नजिकैको जीर्ण सडकमा हस्ताक्षरसहित ब्यानर राखी जनप्रतिनिधिलाई जानकारी दिइएको छ। तर, अझैसम्म कुनै प्रभावकारी प्रतिक्रिया नआएकाले सडकमै केराको बोट रोपेर सांकेतिक रूपमा विरोध जनाइएको उनले बताए।
गिरीले भने, “ताथलीको भञ्याङ क्षेत्रमा त सडक नै खस्न थालेको छ। मन्दिर आसपासको अधुरो सडकले दुर्घटना र जामको जोखिम बढाएको छ। तर, राज्य संयन्त्र मौन छ।”
उनका अनुसार ब्रह्मायानी चोक, तिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठालेचौर, तल्लो र माथिल्लो छापजस्ता क्षेत्रहरू यस सडकको दुरावस्थाबाट प्रत्यक्ष प्रभावित छन्।
उक्त सडकको शिलान्यास तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले वि.सं. २०१६ मा गरेका थिए, र त्यसयता स्थानीयले ‘गणेशमान मार्ग’ भनेर चिन्ने गरेको सडक अझै उचित मर्मत र स्तरोन्नतिको पर्खाइमा छ।
