२०८३ श्रावण १२ गते मंगलवार

images
  • प्रमुख समाचार
  • डब्लुएचओद्वारा एमपक्सलाई स्वास्थ्य आपत्काल घोषणा, एमपक्सबाट...

डब्लुएचओद्वारा एमपक्सलाई स्वास्थ्य आपत्काल घोषणा, एमपक्सबाट कङ्गोमा ५४८ को मृत्यु

डब्लुएचओद्वारा एमपक्सलाई स्वास्थ्य आपत्काल घोषणा, एमपक्सबाट कङ्गोमा ५४८ को मृत्यु

सहर्ष न्युज
बिहिवार, श्रावण ३१ २०८१
सहर्ष न्युज
बिहिवार, श्रावण ३१ २०८१
  •  

    पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस रोगको फैलावटमा भएको द्रुत वृद्धि साथै छिमेकी देशमा पनि यसको पहिचान भएसँगै यसलाई राष्ट्रिय आपत्काल घोषणा गरिएको हो ।

    डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले यो अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय स्वास्थ्य कानूनअन्तर्गत उच्चस्तरको चेतावनी भएको बताउनुभयो ।

    “आज आपत्कालीन समितिको बैठकले एमपक्स रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल भएको सुभाव दिएको छ । मैले त्यो सुझाव स्वीकार गरेको छु । अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय स्वास्थ्य कानुनअन्तर्गत उच्चस्तरको चेतावनी हो”, टेड्रोसले एमपक्सबारे भएको आपत्कालीन समितिको बैठकको नतिजाबारे जनाकारी गराउँदै भन्नुभयो ।  

    यस वर्ष १० अफ्रिकी राष्ट्रमा एमपक्स पत्ता लागेको रोग नियन्त्रण र रोकथामका लागि डब्लुएचओका अफ्रिकी केन्द्रहरूले गत हप्ता बताएका छन् ।

    “एमपक्सको सङ्क्रमण अफ्रिकाभित्र र त्योभन्दा बाहिर फैलन सक्ने सम्भावना रहेकाले यो चिन्ताजनक अवस्था हो”, टेड्रोसले भन्नुभयो । 

    प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

    उहाँले कङ्गोमा एमपक्सको मामिलामा भएको वृद्धिको मूल्याङ्कन गर्न गत हप्ता आपत्कालीन समिति गठन गरेको जानकारी दिनुभयो । 

    “हामीले स्वास्थ्य कार्यकर्ताहरूलाई तालिम दिइरहेका छौँ र सङ्क्रमितलाई उचित हेरचाह प्रदान गर्न चिकित्सकलाई सहयोग गरिरहेका छौँ, हामीले प्रभावित देशमा खोपको पहुँचका साथै आवश्यक सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।  

    गत सेप्टेम्बरदेखि मध्य अफ्रिकी राष्ट्र कङ्गोमा एमपक्स सङ्क्रमण बढिरहेको छ । हाल छिमेकी देशहरूमा पनि यसको सङ्क्रमण पत्ता लागेको छ । 

    डब्लुएचओले सन् २०२२ मा ७० भन्दा बढी देशमा फैलिएपछि मङ्कीपक्स भनेर चिनिने एमपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो ।

    एमपक्सबाट कङ्गोमा ५४८ को मृत्यु

    यसैबीच कङ्गोमा एमपक्सको प्रकोपले यस वर्षको सुरुदेखि पाँच सय ४८ को ज्यान लिइसकेको त्यहाँका स्वास्थ्यमन्त्रीले बिहीबार जानकारी दिनुभएको छ । उहाँले सबै प्रान्त यसको भाइरसबाट प्रभावित भएको बताउनुभयो ।

    स्वास्थमन्त्री स्यामुएल–रोजर कम्बाले भन्नुभयो, “हालैको महामारी विज्ञान रिपोर्टअनुसार हाम्रो मुलुकले यस वर्षको सुरुदेखि १५ हजार छ सय ६४ सम्भावित घटना र पाँच सय ४८ जनाको मृत्यु भएको रेकर्ड गरेको छ ।”

    प्रजातान्त्रिक गणतन्त्र कङ्गो २६ प्रान्त मिलेर बनेको छ र यहाँ करिब १० करोड जनसङ्ख्या छ । एमपक्सबाट सबैभन्दा प्रभावित प्रान्तहरूमा दक्षिणी किभु, उत्तरी किभु, त्सोपो, इक्वेटर, उत्तरी उबाङ्गी, त्सुपा, मोङ्गला र सङ्कुरु रहेका छन् । (रासस, एएनआई)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend