काठमाडौं : चर्चित अभिनेत्री तथा नेपाली कांग्रेसका नेता बिपी कोइरालाकी नातिनी मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी नातिनी पूर्णिका शाहलाई ‘श्री ५ सरकार’ भन्दै सम्बोधन गरेपछि सामाजिक सञ्जालमा चर्चा उत्पन्न भएको छ। गणतन्त्र घोषणा भएयता ‘राजा’ वा ‘श्री ५ सरकार’ जस्ता शाही पदावलीहरू औपचारिक रूपमा प्रयोग नगर्ने परिपाटी छ।
तर, मनिषाले हिमानी ट्रस्टको ‘स्वदेश फर्क, स्वदेशनै स्वर्ग’ अभियानको शुभारम्भ कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति देख्दा आफूलाई गर्व लागेको उल्लेख गर्दै, फेसबुकमार्फत सार्वजनिक टिप्पणी गरेकी हुन्।
उनले लेखेकी छन्, “आजको शुभारम्भ कार्यक्रममा श्री ५ सरकारसहित थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति देख्दा गर्व महसुस भयो। हिमानी ट्रस्टद्वारा सञ्चालन गरिएको ‘स्वदेश फर्क, स्वदेशनै स्वर्ग’ भन्ने मूल नाराका साथ सुरु भएको यो अभियान स्वदेशमै उद्योग, व्यवसाय गर्न चाहने युवाहरूलाई समर्पित छ।”
मनिषाले पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहलाई पनि ‘सरकार’ सम्बोधन गर्दै धन्यवाद दिएकी छिन्। उनले लेखेकी छन्, “मेड इन नेपाल उत्पादनहरूको प्रवर्द्धन ठुलो स्तरमा गर्नुपर्छ। यस्ता पुण्य कार्यहरू अविचल रूपमा अघि बढ्न आवश्यक छ। यो सफल र प्रेरणादायी कार्यको लागि पूर्णिका सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको अथक मेहनत, समर्पण र युवापुस्तालाई उत्प्रेरित गर्ने प्रयास साँच्चै प्रशंसनीय छ।”
केही महिना अघि मात्र पूर्वराजा ज्ञानेन्द्रको नाममा जारी गरिएको एक विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखिएको विषयमा संवाद सचिव फणीराज पाठकलाई प्रहरीले थानामा बोलाएर सचेत गराएको थियो। यस्तो पृष्ठभूमिमा मनिषा कोइरालाले खुला रूपमा शाही पदावली प्रयोग गर्नु राजनीतिक र सामाजिक दृष्टिले चर्चाको विषय बनेको छ।
