काठमाडौं । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले मन्त्री पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका खड्काले मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामा तामाङसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामा पत्रमा मन्त्री खड्काले "विविध कारणले आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्न नसकिने अवस्था रहेकाले" पदत्याग गरेको उल्लेख गरेका छन्।
यसअघि गत शुक्रबार नेपाली कांग्रेस संसदीय दलमा मुख्यमन्त्री लामा तामाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सो प्रस्तावमा मन्त्री खड्कासहित कांग्रेसका अन्य मन्त्रीहरूले हस्ताक्षर गरेका थिए।
अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले कांग्रेसबाट सरकारमा सहभागी अन्य चार मन्त्री—सुरजचन्द्र लामिछाने (आन्तरिक मामिला तथा कानुन), विमल ठकुरी (संस्कृति तथा पर्यटन), मदुकुमार श्रेष्ठ (सहकारी तथा गरिबी निवारण) र मीनकृष्ण महर्जन (युवा तथा खेलकुद)—लाई पदमुक्त गरिसकेका छन्।
झण्डै एक वर्षअघि नेपाली कांग्रेसका नेता लामा तामाङको नेतृत्वमा नेकपा एमालेसहितको गठबन्धन सरकार गठन गरिएको थियो। तर हालको राजनीतिक द्वन्द्वका कारण सत्ता गठबन्धनमा दरार देखिएको छ।
