२०८३ भाद्र २९ गते सोमवार

images

सात सूत्रीय माग राख्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख सत्याग्रहमा बस्ने

सात सूत्रीय माग राख्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख सत्याग्रहमा बस्ने

सहर्ष न्युज
आइतवार, श्रावण ५ २०८२
सहर्ष न्युज
आइतवार, श्रावण ५ २०८२
  • दिक्तेल : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सात सूत्रीय माग राख्दै काठमाडौं, माइतीघर मण्डलामा सत्याग्रह बस्ने भएका छन्।

    शनिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख भट्टराईले उक्त कुराको जानकारी दिएका हुन्। नगरले जेठ २३ गते र असार ६ गते प्रधानमन्त्रीसमक्ष पेस गरेको सात सूत्रीय मागप्रति वर्तमान सरकारको कुनै चासो नदेखिएकाले सत्याग्रह बस्नुपर्ने परेको भट्टराईले बताए।

    नगरपालिकाको १३ औं नगरसभाले नेपाल सरकारसमक्ष पेस गरेको सातबुँदे माग पूरा नगरेकाले सत्याग्रह गर्ने निर्णय गरेको बताए।

    स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको असरबाट जोगाउन सरकारले ठोस कानुन बनाई प्रदूषण गर्ने देशहरूसँग क्षतिपूर्ति लिनुपर्ने, सरकारी कार्यालयमा बाँस र अन्य कच्चा पदार्थ प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानुनी निर्णय गर्नुपर्ने, प्लास्टिकजन्य फोहर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त दश प्रतिशत कर लिन पाउनुपर्ने कानुन बनाउनुपर्ने, प्रकृतिको दोहन गर्ने क्रसर उद्योग रोक्दै कानुन बनाई कारबाही गर्नुपर्ने माग गरिएको भट्टराईले जनाएका छन्।

    त्यस्तै बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ लगायत क्षेत्रको प्राथमिकतामा राखी नीति र आवश्यकताको आधारमा बजेट विनियोजन गनुपर्ने, घरेलु उद्यम र स्वरोजगार हुने कार्य योजना बनाउनुपर्ने रहेका छन्।

    आउँदो साउन ११ गतेदेखि सिंहदरबारको दक्षिण गेटमा कपाल काटेर मुखमा कालोपट्टी बाँधी बाँसको घना बोकेर खाली खुट्टा माइतीघर मण्डला पुगी विहान ९ बजेदेखि ५ बजेसम्म ३ दिन भोक हड्तालमा बस्ने भट्टराईले बताए। तीन दिनसम्म पनि माग पूरा नभए साउन १४ देखि आमरण अनसनमा उनले बताए।

    नगरप्रमुख भट्टराईले ‘स्थानीयलाई स्वरोजगार र आत्मनिर्भर बनाउने हाम्रो अभियान, भ्रष्टाचारमुक्त, संस्कृतियुक्त नगरमा सबैको आत्मसम्मान’, ‘विश्व जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरौं, वन, वातावरण र पर्यावरणयुक्त सामाग्री प्रयोग गरौं’  भन्ने मूल मर्मकाे साथ अगाडि बढिरहेकाे पनि बताए।    

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend