२०८३ श्रावण ११ गते सोमवार

images

दक्षिण कोरिया रोजगारीमा जानुअघि ध्यान दिनुपर्ने चार विषय

दक्षिण कोरिया रोजगारीमा जानुअघि ध्यान दिनुपर्ने चार विषय

सहर्ष न्युज
शनिवार, श्रावण ४ २०८२
सहर्ष न्युज
शनिवार, श्रावण ४ २०८२
  • काठमाडौं । नेपाली श्रमिकहरूका लागि आकर्षक गन्तव्य बनिरहेको दक्षिण कोरियामा पछिल्लो समय दैनिक दुई जना जस्तो नेपालीहरू 'डिप्रेशन' र 'एङ्जाइटी' जस्ता समस्या लिएर परामर्शका लागि पुग्ने गरेको सोलस्थित नेपाली श्रम काउन्सिलरले बताएकी छिन्।

    दक्षिण कोरियामा श्रमिकहरूको मृत्युमध्ये सबैभन्दा धेरै घटना आत्महत्याका कारण हुने गरेको देखिएको भन्दै अधिकारीहरूले आकर्षक तलब भएको उक्त देशमा जानुअघिबाटै आफू मानसिक र शारीरिक रूपमा तयार रहन नेपाली युवाहरूलाई सुझाव दिएका छन्।

    दक्षिण कोरियामा आत्महत्यापछि श्रमिकहरूको मृत्युको कारण कार्यक्षेत्रमा हुने दुर्घटना, सुतेकै ठाउँमा मृत्यु र सडक दुर्घटना जस्ता कारणहरू अध्ययनहरूले औँल्याएका छन्।

    पछिल्लो समय हरेक वर्ष १० हजारभन्दा धेरै नेपालीहरू वैदेशिक रोजगारीका लागि पुग्ने गरेको दक्षिण कोरियामा अघिल्लो आर्थिक वर्ष १८ जना नेपाली कामदारले ज्यान गुमाएका थिए।

    त्यसभन्दा अघिल्लो आर्थिक वर्ष ३२ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ।

    दक्षिण कोरिया जाने कामदारलाई सुझाव

    सोलस्थित नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेका अनुसार दक्षिण कोरियामा कतिपय नेपाली कामदारहरू सहर र बस्तीभन्दा टाढा एकान्त ठाउँमा बसेर काम गर्नुपर्ने अवस्था हुन्छ। लामो समय एकान्त ठाउँमा बसेर काम गरेका र बाजी ('बेटिङ')जस्ता अवैधानिक क्षेत्रमा लगानी डुबाएका नेपाली श्रमिकहरूमा आत्महत्याको समस्या देखिएको राजदूत तुम्बाहाङ्फे बताउँछिन्।

    त्यसो भए कामदारले केके कुरामा ध्यान दिनुपर्छ त ?

    १. भाषा

    "यहाँ आउने कामदारले भाषा जानेर आउँदा आफैँलाई राम्रो हुने रहेछ," उनी भन्छिन्।

    दक्षिण कोरियाले 'ई-नाइन भिसा'अन्तर्गत ईपीएस भाषा परीक्षा उत्तीर्ण गरेपछि मात्रै कामदार लैजाने गरेको छ। तर कतिपय नेपाली कामदारहरूले भाषा नबुझ्दा दक्षिण कोरियामा आफ्नो कुरा राख्न र कम्पनीले अह्राएको कुरा गर्न दोहोरो सञ्चार राम्रोसँग गर्न नसक्ने अवस्था रहेको दूतावासले जनाएको छ।

    नेपाली दूतावासकी श्रम काउन्सिलर मैयाँ कँडेलले पनि भाषा नजान्दा कैयौँ समस्या हुने गरेको बताइन्।

    "भाषा राम्रोसँग नजानी यहाँ आउँदा धेरै समस्या हुन्छ। आफ्नो कुरा राख्न र अरूले भनेको कुरा बुझ्न सकिएन भने काम लगाउनेले पनि राम्रो मान्दा रहेनछन्," कँडेल भन्छिन्। "नेपाली कामदारहरूको तुलनात्मक रूपमा भाषा राम्रो नै छ, उनीहरू मिलनसार र मेहनती भएका कारण यहाँका रोजगारदाताले पनि नेपालीहरूलाई मन पराउने गरेको पाइन्छ।"

    २. काम र काम गर्ने ठाउँ

    कँडेलका अनुसार दक्षिण कोरिया जानुअघि आफूले गर्नुपर्ने काम र काम गर्ने ठाउँबारे पनि राम्रोसँग बुझ्नु आवश्यक हुन्छ।

    दक्षिण कोरियामा जाडोमा माइनस १५ डिग्रीसम्म र गर्मीमा ३५ डिग्रीभन्दा माथि तापक्रम हुने भएका कारण मौसम र भूगोलबारे पनि जानकारी लिनु राम्रो हुने राजदूत तुम्बाहाङ्फेको सुझाव छ।

    "यहाँ म आउँदा माइनस १५ थियो। गर्मीमा हाम्रो तराइ भेगमा जस्तै हुने रहेछ। त्यो बुझेर आयो भने यहाँ बस्न सजिलो हुन्छ," उनी भन्छिन्।

    "धेरैलाई यहाँ आएर सहरी क्षेत्रमा काम गर्ने बुझाइ हुने रहेछ। तर सहरभन्दा धेरै टाढाका गाउँ र एकान्त फार्महरूमा बसेर काम गर्नुपर्ने हुन सक्छ," काउन्सिलर कँडेल थप्छिन्।

    ३. तन्दुरुस्ती र स्वास्थ्य

    शारीरिक रूपमा आफू तन्दुरुस्त नभए वा स्वास्थ्य समस्या भए कामदारका रूपमा जान दक्षिण कोरिया उपयुक्त विकल्प नहुने राजदूत तुम्बाहाङ्फे बताउँछिन्।

    "यहाँ कडा मेहनत गर्नुपर्ने रहेछ। कामदारहरूका अनुसार यहाँ साहु पनि आफैँ लागेर काम गर्ने हुँदा खटाइ धेरै हुन्छ। यहाँ पैसा मात्रै छैन, काम पनि धेरै हुन्छ भन्ने बुझेर आउनुपर्ने हुन्छ," उनी भन्छिन्।

    दक्षिण कोरियामा हिंसा र शोषणका घटना कम भए पनि कृषि क्षेत्रमा कतिपय रोजगारदाताले खेतीपाती र बाली उठाउने मौसममा ओभरटाइम काम गर्न दबाव दिने गरेको पाइएको कँडेलले सुनाइन्।

    ४. मानसिक स्वास्थ्य

    दक्षिण कोरियामा शारीरिक सँगै मानसिक रूपमा पनि आफू कडा परिश्रम र विषम वातावरणमा रहेर काम गर्न तयार भएर जानुपर्ने अधिकारीहरू बताउँछन्।

    "कतिपय नेपालीहरूको आत्महत्याको कारण केलाउँदा पैसासँग जोडिएको देखिएको छ। कतिपयलाई पैसा व्यवस्थापनको ज्ञान नभएर र कतिपयले त्यसको दुरुपयोग गरेर पनि कमाएको पैसा सकेर ऋण लागेपछि आत्महत्या गरेको सम्म देखिन्छ," राजदूत अधिकारी भन्छिन्।

    उनका अनुसार एकान्त स्थानमा बस्ने कामदारहरूमा पनि डिप्रेशन र आत्महत्याको समस्या देखिएका छन्।

    "यहाँ आउँदा परिवारसँग टाढा भएर बस्नुपर्ने त छँदै छ, कतिपय कामदारहरू एकलास ठाउँमा बस्नुपर्ने पनि हुने रहेछ। त्यसका लागि आफू मानसिक रूपमा बलियो भएर आउनुपर्‍यो। अहिले दैनिक औसत दुई जना जस्तो नेपालीहरू डिप्रेशन र एङ्जाइटीका लक्षण लिएर परामर्शका लागि पुग्ने गरेका छन्," श्रम काउन्सिलर कँडेल भन्छिन्।

    नेपाली कामदारबारे अध्ययनमा के देखियो

    राष्ट्रिय मानवअधिकार आयोगले सन् २०२२ मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको मानव अधिकारको अवस्था अध्ययन गर्ने क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारहरूको अवस्थाबारे बुझेको थियो।

    आयोगको प्रतिवेदनमा आकर्षक भनिने रोजगारीका गन्तव्य देशमा पनि नेपाली कामदारहरू अङ्गभङ्ग हुने गरी कार्यक्षेत्रमा दुर्घटनामा पर्ने गरेको उल्लेख छ।

    दक्षिण कोरियामा नेपाली कामदार. ईपीएसमार्फत् कुन वर्ष कति नेपाली गए.  सन् २०२० र २०२१ मा कोभिडका कारण  दक्षिण कोरिया जानेको सङ्ख्या न्यून देखिन्छ .

    आयोगले नेपाली श्रमिकहरू दुर्घटनामा परेकामध्ये आधा दुर्घटना कार्यक्षेत्रमा देखिएको जनाएको छ।

    "कार्यक्षेत्रमा भएका दुर्घटनाका कारण अपाङ्गता हुने उच्च दरले आप्रवासी कामदारहरूका लागि सुरक्षा उपायहरू कमै मात्र अपनाउने गरिएको देखिन्छ," आयोगको प्रतिवेदनमा भनिएको छ।

    कमाइ र श्रमिकहरूका लागि प्राप्त हुने अन्य सुविधाका दृष्टिले दक्षिण कोरियालाई वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक मानिन्छ।

    यो देशमा सबैभन्दा धेरै कामदार ईपीएस प्रणालीबाट जाने गरेका छन्। त्यस बाहेक 'ई-सेभेन भिसा' र मौसमी कामदारका रूपमा पनि नेपाली कामदारहरू दक्षिण कोरिया पुग्ने गरेका छन्।

    नेपालले सन् २००४ बाट ईपीएस प्रणालीबाट दक्षिण कोरिया कामदार पठाउन सुरु गरेको थियो। तर त्यसभन्दा अगाडि १९९४ बाटै दक्षिण कोरिया कामदार पठाउने गरेको अभिलेखहरूमा पाइन्छ।

    नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले औसतमा मासिक ३१५ देखि ३३० अमेरिकी डलरसम्म तलब पाउने गरेको भए पनि दक्षिण कोरिया जाने अर्धदक्ष नेपाली कामदारले १,३०० डलरसम्म कमाउने गरेको मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख भएको समाचार बीबीसीले लेखेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend