२०८३ भाद्र २८ गते आइतवार

images

चौध वटा पक्की पुल निर्माण

चौध वटा पक्की पुल निर्माण

सहर्ष न्युज
शुक्रवार, श्रावण ३ २०८२
सहर्ष न्युज
शुक्रवार, श्रावण ३ २०८२
  • सिन्धुलीमाढी । बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लामा यो वर्ष चार वटा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाको ग्रामीण क्षेत्रका भित्री सडकका विभिन्न खोला तथा नदीमा यी पुलसहित हालसम्म १४ वटा पक्की पुल निर्माण सम्पन्न भइसकेका छन् । 

    गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्का लागी सम्पन्न भएका पक्की पुलमा कमलामाई नगरपालिका–२, चियाबारीस्थित ग्वाङ्खोला पुल, घ्याङ्लेख गाउँपालिका–२ स्थित ठाडीखोला पुल, सुनकोशी गाउँपालिका–५ स्थित सातबिसे भोटेखोला पुल र कमलामाई नगरपालिका–४, कुमालफाँट जोड्ने ग्वाङ्खोला पुल रहेका पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

    कार्यालय प्रमुख लक्ष्मीप्रसाद सापकोटाले चार वटै पक्की पुल एकै वर्ष ठेक्का लागेर तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणाधीन घ्याङ्लेख गाउँपालिका–३ मा तामाजोरखोला र सुनकोशी गाउँपालिका–६ मा आरुबोटे खोला पक्की पुल लगभग सकिएको अवस्था छ । पुलबाट गाडी सञ्चालनमा आइसकेका छन्, केही काम मात्रै बाँकी छ ।”

    ग्रामीण क्षेत्रका भित्री सडकका विभिन्न खोलामा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पक्की पुल निर्माणसँगै यातायात सञ्चालन सहज बन्दै गएको उहाँले बताउनुभयो । कार्यालयका अनुसार जिल्लाका विभिन्न खोलानालामा अझै चार वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेका छन् । पक्की पुलको अभावमा हिउँद मौसममा मात्रै यातायात सञ्चालन हुने ग्रामीण सडकमा पुल बनेसँगै बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । गत आर्थिक वर्ष तीन वटा पक्की पुल बहुवर्षीय प्रक्रियामा नयाँ ठेक्का लागेको छ ।

    गत आव २०८१/८२ मा ठेक्का लागी सम्पन्न भएका पक्की पुलमध्ये कमलामाई नगरपालिका–२, चियाबारीस्थित ग्वाङ्खोला पुल तीन करोड ९० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो । यो पुल २०८१ साल असार २ गते सिद्धकाली/जीवन जेभीले सम्झौता गरी निर्माण सम्पन्न गरेको हो । त्यस्तै घ्याङ्लेख गाउँपालिका–२ स्थित ठाडीखोला पक्की पुल सिर्जना निर्माण सेवाले २०८१ जेठ १४ गते सम्झौता गरी करिब छ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ ।

    त्यस्तै सुनकोशी गाउँपालिका–५ स्थित सातबिसे भोटेखोला पुल जीवन/दाहाल/जयगोरख जेभीले गत वर्ष असारमा सम्झौता गरी तीन करोड ६० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको हो । कमलामाई नगरपालिका–४, कुमालफाँट जोड्ने ग्वाङ्खोला पुल जीवन/दाहाल जेभीले गत वर्ष असारमा नै सम्झौता गरी तीन करोड ८६ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न गरेको जनाएको छ ।

    निर्माण सम्पन्न भई सञ्चालनमा रहेका अन्य पक्की पुलमा कमलामाई नगरपालिका अन्तर्गत मधुटार ग्वाङ्खोला पुल, कारागार ग्वाङ्खोला पुल, कमला नदी भिमान पुल, लुङ्गेलीटार बौलाखोला पुल, गड्यौलीखोला पुल, हरिहरपुरगढी–७ मा क्यानखोला पुल, दुधौली नगरपालिकामा पित्लेभन्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल, तीनपाटन गाउँपालिकाको लङ्गुरखोला पुल, फिक्कल गाउँपालिकाको बाक्सुखोला पुल र सुनकोशी गाउँपालिकाको धोबीखोला पुल रहेका छन् । 

    निर्माणाधीन पक्की पुलमा हरिहरपुरगढी गाउँपालिका–२ र ४ लाई जोड्ने मरिणखोला पुल, सुनकोशी गाउँपालिका–६ को आरुबोटेखोला पुल, गोलन्जोर गाउँपालिकामा बारा–घोक्सिला पुल र घ्याङ्लेख गाउँपालिका–३ मा तामाजोरखोला पुल रहेका छन् । त्यस्तै बहुवर्षीय प्रक्रियामा नयाँ ठेक्का लागेका पक्की पुलमा दुधौली नगरपालिकास्थित ठाकुरखोला पुल, फिक्कल गाउँपालिकास्थित पौतीखोला पुल र कमलामाई नगरपालिका–१३ स्थित सुनखानी–मडाहा कमलाखोला पक्की पुल रहेको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार स्रोत सुनिश्चित नभएका कारण हरिहरपुरगढी गाउँपालिकास्थित तीनकुना पक्की पुल, कमलामाई नगरपालिका–८ स्थित पुरानो करकरे सिन्दुरेटार पक्की पुल, हरिहरपुरगढी गाउँपालिका–५ स्थित चारखोला पक्की पुल, फिक्कल गाउँपालिका–१ स्थित सिदालीखोला पक्की पुल र दुधौली नगरपालिका–५ स्थित रानीखोला पक्की पुल ठेक्का लाग्न सकेका छैनन् ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend