काठमाडौं । विद्युत विकास विभागको ३२औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । विभागका महानिर्देशक नविन राज सिंहको अध्यक्षतामा सम्पन्न उक्त समारोहको प्रमुख अतिथिको रुपमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का रहनु भएको थियो ।
विभागको ३२औं वार्षिकोत्सवको समारोहको अवसरमा आयोजित विशेष समारोहलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले अब भाषण मात्र गरेर होइन, जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताउनु भयो ।
कार्यक्रममा मन्त्री खड्काले भन्नुभयो, ‘हामीले भाषण धेरै गर्यौं, अब साँचिकै काम गर्ने समय हो। यदि नीति र नियमले काम रोकिएको छ भने तिनमा सुधार गरेर भए पनि अघि बढ्नुपर्छ। ऊर्जा अब केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो ।’
देशभरको हरेक चुल्होमा विद्युत् पुगोस् भन्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘ऊर्जाको आवश्यकता रोकिने विषय होइन, ढिलाइ नगरौं, आवश्यक निर्णयहरू तत्काल लिई तीव्र गतिमा अघि बढौं,’ ।
मन्त्री खड्काले वर्तमान सरकारको प्राथमिकता ूदेशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने रहेको उल्लेख गर्दै भन्नुभयो, 'हामीसँग जे छ, त्यसको सदुपयोग गर्न सक्ने हो भने, ऊर्जा नै व्यापार र समृद्धिको मूल स्रोत बन्न सक्छ ।’
‘कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरिसकेका हामीले यो युग चलाउन ऊर्जा अनिवार्य छ ।’ उहाँले थप्नुभयो– ‘त्यसैले हामीले उत्पादन मात्र होइन, प्रशारण र वितरणतर्फ पनि विशेष ध्यान दिनुपर्छ ।’

ऊर्जा मन्त्री खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने स्पष्ट संकेत दिनुभयो। उहाँले निजी क्षेत्रको योगदानलाई समेत मूल्यांकन गर्दै भन्नुभयो, ‘सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै स्थायीत्व र प्रभावकारिता आउँछ ।’
यो वर्ष ४३२ मेगावाट जलविद्युत् तथा ३५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरेर योगदान दिने निजी तथा सरकारी पक्षप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले भन्नुभयो, ‘मुलुकको समृद्धि सरकार वा मन्त्री मात्रको दायित्व होइन, यो साझा प्रयास हो। त्यसैले सबै तह र तप्काले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
उहाँले 'समस्या छ भने पहिचान गरौं, अप्ठ्यारा छन् भने तिनको समाधान गरौं, अब समय गुमाउने होइन, सम्भावनालाई काममा बदल्ने हो’ भन्ने प्रेरणादायी सन्देश पनि दिनुभयो ।
उक्त समारोहमा ऊर्जा मन्त्रालयका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, ऊर्जा तथा जलस्रोत आयोगको सचिवालयका प्रमुख सचिव दिनानाथ मिश्र, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, स्वतन्त्र विद्युत उत्पादकहरुको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाङ्गी, सल्लाहकार, विभागीय प्रमुखहरू, विभिन्न विद्युत कम्पनीका प्रतिनिधिहरू, निजी क्षेत्रका अग्रज तथा विशेषज्ञहरूको उपस्थिति रहेको थियो ।
सो समारोहमा विद्युत विकास विभागले प्रकाशन गरेको ‘विद्युत प्रवर्द्धन स्मारिका–२०८२’ लाई प्रमुख अतिथि ऊर्जामन्त्री दिपक खड्काले विमोचन गर्नु भयो । कार्यक्रममा सेवानिबृत कर्मचारीहरु मधु प्रसाद भेटवाल (सचिव पदबाट अवकाश), अरुण कुमार झा (उपमहानिर्देशकबाट अवकाश) र सरिता प्रधानलाई सम्मान गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा निर्माण सम्पन्न गरेका २० वटा विद्युत आयोजनाहरुका प्रवर्द्धकहरुलाई समेत सो समारोहमा सम्मान गरिएको थियो ।

विभाग आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सफल भएको छ : महानिर्देशक सिंह

विद्युत ऐन, २०४९ ले परिकल्पना गरे अनुरुप जलविद्युतको विकास गर्न जलविद्युत विकासमा निजि क्षेत्रको उद्यमीलाई प्रोत्साहित गर्दै निजि क्षेत्रको लगानी प्रवर्द्धन गरी जलविद्युत विकास सम्बन्धि कार्यहरुलाई अनुगमन गर्न विद्युत विकास इकाईको रुपमा स्थापना भएको विद्युत विकास विभाग आज गौरवमय ३२ वर्ष अवधि पूरा गरी ३३ औं वर्षमा प्रवेश गरेको छ । विद्युतको विकासमा निजि क्षेत्रको उच्च सहभागिता र लगानी भएकोले विद्युत विकास विभाग आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सफल भएको छ । नेपालमा विद्युत क्षेत्रको 'विकास एवम् विस्तारमा समर्पित सार्वजनिक सेवा प्रदायक निकायको रुपमा विद्युत विकास विभागले निजी क्षेत्रलाई विद्युत क्षेत्रमा प्रोत्साहन, समन्वय एवम् प्रबर्द्धन गर्ने भूमिका अग्रगामी रुपमा खेलेको अनुभूति गर्न सकिन्छ।
प्रकृतिद्वारा प्रदत्त जलविद्युतको उच्च सम्भावना बोकेको नेपालको विद्युत विकास सम्बन्धि यात्रा झन्डै ११४ वर्ष अघि सुरु भएको भएता पनि नेपालले आफ्ना लागि पर्याप्त विद्युत उत्पादन गर्न थालेको केही वर्ष मात्र भएको छ। हाल नेपालवाट वर्षायाममा उत्पादित विद्युत छिमेकी मुलुक भारत र बंगलादेशमा निर्यात हुन थालेको छ । जसले नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने बाटोमा डोर्याएको छ भने अर्कोतिर व्यापार घाटा पनि कम गराएको छ । आगामी सन् २०३५ सम्म १३,५०० मे.वा. विद्युत आन्तरिक खपत र १५००० मे.वा. विद्युत क्षेत्रीय बजारमा निर्यात गर्ने गरी कुल २८,५०० मे.वा. विद्युत उत्पादन गर्ने लक्ष्य सहित नेपाल सरकारले जारी गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ को सफल कार्यान्वयनमा विद्युत विकास विभागको पनि मुख्य भूमिका हुने कुरा विभागले आत्मसात गरेको छ । ३२औं वार्षिकोत्सवको सुखद अवसरमा विद्युत विकास विभागका समस्त राष्ट्रसेवक कर्मचारीहरु, निजी क्षेत्रका उद्यमीहरु, सरोकारवाला र सहयोगीहरु सबैलाई विद्युत क्षेत्रमा हालसम्मको सफल सहकार्यको लागि बधाई दिन चाहन्छु एवं विभागको आगामी दिन अझै गौरवपूर्ण होस् भनि शुभकामना व्यक्त गर्दछु ।
