२०८३ श्रावण ११ गते सोमवार

images

सास गन्हाउनुका कारण र यसको समाधानका ७ सरल उपाय

सास गन्हाउनुका कारण र यसको समाधानका ७ सरल उपाय

सहर्ष न्युज
मंगलवार, आषाढ २४ २०८२
सहर्ष न्युज
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । के तपाईँ आफ्नो सास सधैँ ताजा महसुस नहुने र नराम्रो गन्ध आउने चिन्ताले मानिसहरूको नजिक जान हिचकिचाउनुहुन्छ? चिन्ता नगर्नुहोस्- यो एक सामान्य अवस्था हो र यसका समाधानहरू पनि छन्।

    दाँत सफा राख्नु भनेको हाम्रो दाँत र गिजाबीचको खाली ठाउँ तथा जिब्रोको भित्री भागमा रहने ब्याक्टेरियाविरुद्धको कहिल्यै नसकिने लडाइँजस्तै हो।

    यदि तपाईँले यी ब्याक्टेरियाहरूलाई हटाउनुभएन भने ती त्यहाँ निकै फैलन सक्छन् र गिजासम्बन्धी  गम्भीर रोग निम्त्याउन सक्छन्। तर यसलाई रोक्ने तरिकाहरू छन्।

    सास किन गन्हाउँछ ? 

    संसारभरि सास गन्हाउने मुख्य कारणहरूमध्ये एक 'पेरिओडोन्टाइटिस' हो। यसलाई गिजा तल झर्ने अवस्थासमेत भनिन्छ।

    "आधा वयस्क जनसङ्ख्यामा कुनै न कुनै प्रकारको गिजाको रोग हुन्छ," बेलायतको बर्मिङ्घम विश्वविद्यालयका रिस्टोरटिभ डेन्टिस्ट्रीका सहप्राध्यापक डा प्रवीण शर्माले बीबीसीको 'ह्वाट्स अप डक्स?' कार्यक्रममा भने।

    बाँकी १० प्रतिशतका अन्य कारणहरू छन्।

    "राम्ररी नियन्त्रण नभइरहेको मधुमेहमा एक निश्चित प्रकारको सास हुन्छ," डा. शर्मा भन्छन्।

    "यदि पाचनसँग सम्बन्धित समस्या तथा ग्यास्ट्रिक रिफ्लक्स भएका बिरामी छन् भने उनीहरूको एकखाले अमिलो सास हुन्छ। त्यस्तोमा तपाईँलाई ओरल क्याभिटीमा देखा पर्ने प्रणालीगत रोगहरू हुन्छन्।"

    त्यसो भए यसबारे के गर्न सकिन्छ?

    १. समस्याको जरोसम्मै पुग्नुहोस्

    यदि तपाईँले आफ्नो दाँत र गिजाबीचमा रहने ब्याक्टेरिया सफा गर्नुभएन भने यसले सूक्ष्मखाले घाउ र पछि गिजाबाट रगत बग्ने समस्या निम्त्याउन सक्छ।

    यो गिजाबारे हुने रोगको प्रारम्भिक चरण हो। तर यो अवस्थामै त्यसलाई सुल्झाउन सकिन्छ।

    "जिन्जिभाइटिस भनेको गिजा सुन्निने अवस्था हो र तपाईँले ब्रश गर्दा तपाईँको गिजा रातो, सुन्निएको र रगत बगिरहेको देख्नुहुन्छ," डा. शर्मा भन्छन्। "त्यो पेरिओडोन्टाइटिसको चरणमा बढ्छ।"

    ब्रश गर्दा गिजा रातो भएको, सुन्निएको वा रगत बगिरहेको छ या छैन भनेर जाँच गर्ने गर्नुहोस् तर धेरै चिन्ता नगर्नुहोस् किनकि त्यसपछि पनि अवस्था सुधार्ने कामका लागि समय छ।

    "बिरामीहरूले गर्ने एउटा कुरा के हो भने तिनीहरू ब्रश गर्दा दुख्ने गिजातिर ब्रश गर्नबाट सहजै जोगिने उपाय सोच्न थाल्छन् जतिखेर 'ओहो! मैले हानि पुर्‍याइरहेको छु, म केही गलत गरिरहेको छु र त्यसकै कारण यहाँबाट रगत बगिरहेको छ' भन्ने महसुस हुन्छ," डा. शर्मा भन्छन्।

    "यो झण्डै उल्टो भएको छ - तपाईँले त्यसलाई गिजाबाट रगत बग्ने सङ्केतको रूपमा प्रयोग गर्नुपर्छ र 'ओहो, मैले पहिले ब्रश गर्न छुटाएकोले मैले अझ राम्रोसँग ब्रश गर्नुपर्छ' भन्ने सोच्नुपर्छ।"

    दन्त स्वास्थ्य

    २. ध्यान दिएर ब्रश गर्नुहोस्

    डा शर्माका अनुसार तपाईँले राम्रोसँग ब्रश गर्न समय निकाल्न आवश्यक छ।

    "तपाईँ अन्य कामहरू गर्दा दाँत माझ्न वा दाँत सफा गर्न चाहनुहुन्न," उनी भन्छन्।

    सबैभन्दा राम्रो तरिका तपाईँले आफ्नो ऐनाको अगाडि उभिएर राम्रोसँग ध्यान केन्द्रित गर्नु हो।

    धेरैजसो दाहिने हात प्रयोग गर्ने व्यक्तिहरूले अनजानमै आफ्नो बायाँतर्फ लामो समयसम्म ब्रश गर्छन् भने देब्रे हात चलाउने व्यक्तिहरूले आफ्नो दायाँतर्फ लामो समयसम्म ब्रश गर्छन्। त्यसले गर्दा कम ध्यान पाउने छेउमा बढी सुजन हुन सक्छ।

    तपाईँ कुन हात प्रयोग गर्दै हुनुहुन्छ भन्नेबारे सचेत रहनुहोस् र दुवैतर्फ समान रूपमा सावधानीपूर्वक ब्रश गर्ने प्रयास गर्नुहोस्।

    ३. सही तरिकारे ब्रश गर्नुहोस्

    डा शर्मा सबैभन्दा पहिला दाँतहरूबीचका अन्तरको सफाइबाट सुरु गर्न सुझाव दिन्छन्।

    "प्लाक हटाउने र गिजाको स्वास्थ्यलाई मद्दत गर्ने सन्दर्भमा 'इन्टर्डेन्टल' ब्रश प्रयोग गर्नु राम्रो हुन्छ," उनी भन्छन्।

    यो प्रयोग गरेपछि आफ्नो टूथब्रशलाई मुखमा सार्दा हतार नगरीकन व्यवस्थित तरिका अपनाउनुपर्छ।

    प्रत्येक दाँतमा बाहिरी, चपाउने र भित्री गरी तीन सतहरू हुन्छन् भन्ने ख्याल राख्न जरुरी छ र ती सबैलाई ध्यानपूर्वक सफा गर्न आवश्यक छ।

    धेरैलाई यो अचम्म लाग्न सक्ने भए तापनि दाँत माझ्ने न्यूनतम समय दुई मिनेट हो।

    धेरै मानिसहरू‍ आफ्नो ब्रशलाई दाँतमा ९०-डिग्रीको कोणमा समातेर अगाडि-पछाडि थिचेर ब्रश गर्छन्। तर यो विधिले गिजा तल झर्ने समस्या निम्त्याउन सक्छ।

    टूथब्रशलाई दाँतमा लगभग ४५-डिग्रीको कोणमा समातेर बिस्तारै ब्रश गर्नुपर्छ। तल्लो दाँतमा रहेको गिजाको रेखातिर र माथिल्लो दाँतमा रहेको गिजाको रेखातिर ब्रशको माझ्ने भाग तेर्स्याएर ब्रश गर्नुहोस्। यसले गिजाको रेखामुनि लुकेका ब्याक्टेरियाहरू हटाउन मद्दत गर्छ।

    ४. सही समयमा ब्रश गर्नुहोस्

    हामीमध्ये धेरैलाई खाना खाएपछि दाँत माझ्नु सही कुरा हो भनेर सिकाइएको हुन सक्छ। तर यसबारे फेरि सोच्नुहोस्।

    "आदर्श रूपमा तपाईँ बिहानको खाजा खानुअघि ब्रश गर्नुपर्छ," डा शर्मा भन्छन्। "तपाईँले अम्लीय पदार्थ खाएपछि ब्रश गर्न चाहनुहुन्न - यसले दाँतको खनिज पदार्थ, इनामेल र डेन्टीनमा प्रभाव पार्छ।"

    खानामा रहेको अम्ल (एसिड)ले तपाईँको दाँतको सतहमा रहेको सुरक्षात्मक इनामेल र तलको डेन्टीनलाई नरम बनाउँछ। त्यसैले खाना खाएपछि तुरुन्तै दाँत माझ्दा तपाईँको दाँतको इनामेललाई क्षति पुर्‍याउन सक्छ।

    "यदि बिहानको खाजा खाइसकेपछि ब्रश गर्न चाहनुहुन्छ भने तपाईँले आफ्नो खाजा र दाँत माझ्ने समयबीचमा केही समय छोड्नुपर्छ," डा शर्मा भन्छन्।

    तपाईँले आफ्नो मुख कुल्ला गर्नुपर्छ र केही समय पर्खनुपर्छ।

    त्यसका साथै दिनमा दुई पटक दुई मिनेट दाँत माझ्नु आदर्श भए तापनि केही मानिसहरूले दिनमा एक पटक राम्ररी ब्रस गर्नु पर्याप्त मान्न सक्छन्।

    तपाईँ सुत्दा तपाईँको र्‍यालको प्रवाह कम हुन्छ र त्यसले ब्याक्टेरियालाई रातको समयमा तपाईँको दाँतलाई बढी क्षति पुर्‍याउन सघाउँछ।

    त्यसैले तपाईँ दिनमा एक पटक मात्र आफ्नो दाँत राम्ररी सफा गर्न जाँदै हुनुहुन्छ भने त्यसका लागि सबैभन्दा उपयुक्त समय रातमा हो।

    ५. सही उपकरणहरू छान्नुहोस्

    मध्यम कडापन भएको टूथब्रश प्रयोग गर्नुहोस्। टूथपेस्ट पनि महँगो हुनु पर्दैन।

    "रमाइलो कुरा के छ भने जबसम्म यसमा फ्लोराइड हुन्छ, तब त्यो ठिक हुन्छ भनेर म खुसी हुन्छु," डा शर्मा भन्छन्"

    खनिजले दाँतको इनामेललाई बलियो बनाउँछ र यसलाई क्षयको लागि बढी प्रतिरोधी बनाउँछ।

    ब्रश गरेपछि थुक्नुहोस् तर कुल्ला नगर्नुहोस् ता कि टूथपेस्ट र फ्लोराइड मुखमा रहिरहोस्। अनि दाँतको क्षय रोक्न मद्दत होस्।

    यदि तपाईँले गिजाको रोगका प्रारम्भिक लक्षणहरू अनुभव गरिरहनुभएको छ भने 'माउथवाश' पनि प्रयोग गर्न मिल्छ किनकि यसले प्लाक र ब्याक्टेरिया निर्माण कम गर्न मद्दत गर्दछ।

    यसले टूथपेस्टमा रहेको फ्लोराइडलाई पखाल्न सक्ने हुँदा ब्रश गरेपछि यसलाई प्रयोग नगर्नुहोस्।

    ६. गम्भीरखाले गिजा रोग चिन्नुहोस्

    यदि गिजा तल झर्ने (पेरिओडोन्टाइटिस) बढ्दै गयो भने तपाईँले दाँतको बीचमा खाली ठाउँहरू बन्न थालेको देख्नुहुन्छ।

    दाँतलाई समात्ने हड्डी क्षय हुँदै जाँदा दाँतहरू खुकुला हुन सक्छन्।

    यदि यो अवस्था नियन्त्रण गरिएन भने हड्डीको क्षति निकै गम्भीर स्तरमा पुगेर दाँत झर्न सक्छ।

    तपाईँले लगातार सास गन्हाउने अनुभव पनि गर्न सक्नुहुन्छ। तपाईँले यी लक्षणहरू अनुभव गर्न थाल्दा तत्कालै दन्तचिकित्सकलाई भेट्नुहोस्।

    ७. पानी पिउनुहोस् र जिब्रो सफा राख्नुहोस्

    अन्त्यमा तपाईँको सास ताजा पार्न केही तत्कालै गर्न सम्भव सुझाव यहाँ दिइएका छन् :

    • प्रशस्त पानी पिउनुहोस् किनभने तपाईँको मुख सुक्खा हुँदा ब्याक्टेरिया बढ्न सक्छ।
    • स्क्रेपरले आफ्नो जिब्रो सफा गर्नुहोस्। यसले सास गन्हाउन सघाउने खानाका कण, ब्याक्टेरिया र मृत कोशिकाहरू हटाउँछ।
    • यदि तपाईँलाई आफ्नो सास कति ताजा छ भन्ने कुरा थाहा छैन भने यो जाँच गर्न साथी वा परिवारको सदस्यलाई छाड्नुहोस्। तर कसलाई सोध्ने भनेर चाहिँ राम्ररी सोच्नुहोस्।

     बीबीसीबाट ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend