२०८३ भाद्र २७ गते शनिवार

images

व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर तीन प्रहरी सहित १८ जना बेपत्ता

व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर तीन प्रहरी सहित १८ जना बेपत्ता

सहर्ष न्युज
मंगलवार, आषाढ २४ २०८२
सहर्ष न्युज
मंगलवार, आषाढ २४ २०८२
  • बाढीमा परी नेपाल प्रहरीका तीन जना, भन्सार कार्यालय यार्डमा काम गर्ने नौजना र ६ जना चिनिया नागरिक सहित १८ जना सम्पर्क विहीन भएका हुन् ।

    काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर तीन प्रहरी सहित १८ जना बेपत्ता भएका छन् । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर प्रहरी र चिनिया कामदार गरी १५ जना बेपत्ता भएका हुन् ।

    रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको भने उद्धार गरीएको छ । अहिले उद्धार तथा खोजका लागि सुरक्षाकर्मी परिचालन भइसकेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

    रसुवाको केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्‍याएको छ । करिब तीन बजे आएको बाढीले रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ ।

    भन्सार जाँच पास गर्न राखिएका र भइसकेका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ । रसुवागढीस्थित चीनतर्फ जोड्ने मितेरी पुललाई पनि बाढीले बगाएको छ । यसैबीच स्थानीय प्रशासनले त्रिशुलीका तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

    यसैबीच त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए ।

    सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको र अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।

    बाढीमा परी नेपाल प्रहरीका तीन जना, भन्सार कार्यालय यार्डमा काम गर्ने नौजना र ६ जना चिनिया नागरिक सहित १८ जना सम्पर्क विहीन भएका हुन् ।

    बाढीले एक दर्जनभन्दा बढी गाडी र नेपाल चीन सीमामा जोड्ने मितेरी पुल बगाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend