२०८३ भाद्र २८ गते आइतवार

images

तिमी रमाऊ आफैंले बनाएको दरबारमा

तिमी रमाऊ आफैंले बनाएको दरबारमा

सहर्ष न्युज
बिहिवार, जेठ ३० २०८२
सहर्ष न्युज
बिहिवार, जेठ ३० २०८२
  • दीपिका खड्का

    अरू माथि चढ्नु भनेको,
    आफू तल झर्नु होइन।
    अरू तल झर्नु भनेको,
    आफू माथि पुग्नु पनि होइन।

    दिनको राजा सूर्य साँझ लुसुक्क डुब्छ,
    रातको रानी चन्द्रमा बिहान आफैं हराउँछ।

    ठूलो ब्रह्माण्डको—सानो पृथ्वी,
    सानो पृथ्वीको—झन् सानो एउटा कुना,
    त्यो सानो कुनामा बस्ने—भुसुना बराबरको मानिस।
    तर उसमा, ब्रह्माण्डभन्दा पनि ठूलो
    घमण्ड र अभिमान।

    शून्यबाट बनेको,
    र शून्यमै बिलाउने जिन्दगी।
    तर खै किन पो हो?
    अरूलाई सानो बनाएर,
    आफू ठूलो बन्ने होडबाजी।

    ठीकै छ,
    उ त भुईँमान्छे—सानो बनिदेला,
    जमिनमा भासिनै देला।

    तिमी रमाऊ,
    आफैंले बनाएको दरबारमा।
    तर खबरदार—
    हरेक दिन तिमीलाई शिखरमा पुर्‍याउने
    त्यो पात्रलाई मनदेखि धन्यवाद दिन नबिर्सनु।

    त्यो पात्र छ र तिमी छौ।
    उ नहुँदो हो त—
    न त तिमी हुन्थ्यौ,
    न त तिम्रो खरले बनाएको दरबार।

    चाहे त्यो पात्र सगरमाथा पुगोस् वा चन्द्रमा,
    तिमीलाई शिखरमा राख्न
    जमिनमुनि बसिदिन्छ।

    त्यसैले गल्ती नगर्नु,
    उसलाई बचाएर,
    आफ्नो अस्तित्व जोगाउनु।

    त्यो हावाको शीतलताले पनि उडाउने दरबारमा बसेर,
    हरेक पल लडिरहनु पर्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend