२०८३ भाद्र २७ गते शनिवार

images

लघु जलविद्युत योजना मर्मत नहुँदा अँध्यारोमा चुँडी गाउँवासी

लघु जलविद्युत योजना मर्मत नहुँदा अँध्यारोमा चुँडी गाउँवासी

सहर्ष न्युज
आइतवार, जेठ २६ २०८२
सहर्ष न्युज
आइतवार, जेठ २६ २०८२
  • डडेल्धुरा । लघु जलविद्युत योजना मर्मत नहुँदा चुँडी गाउँवासी अँध्यारोमा बस्न बाध्य हुने गरेका छन् । भागेश्वर गाउँपालिका १ चुँडी गाउँमा तीन वर्ष पहिले करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमा गाड सिँचाइ तथा लघु जलविद्युत् योजना निर्माण गरिएपछि गाउँवासीले उज्यालो पाएका थिए । तर हाल उपकरणहरू मर्मत हुन नसक्दा बेला बेला बत्ती जाने गरेको छ । 

    लघु जलविद्युत योजना निर्माण गरिए पछि २८ घरधुरी रहेको चुँडीका सबै घर, एउटा आधारभूत विद्यालय र सामुदायिक भवनमा बिजुली बलेको थियो । दुइ वर्षको वारेन्टी भएका उपकरण मर्मत र नफेरिँदा समस्या आएको हो । पानी खुला बन्द गर्ने बटरफ्लाइ, विद्युत् प्रवाह गर्ने नोजल, ब्यारिंग र मिटरहरू खराब भएको विद्युत् गृहका अपरेटर पदमसिंह थलालले बताउनुभयो । उपकरण नयाँ फेर्न करिब तीन लाख रुपियाँ पर्ने र फेर्नका लागी आउने अपरेटर खर्च थप लाग्ने अनुमान गरिएको छ । तर उक्त रकम छैन । उहाँले भन्नुभयो, स्थानीय सरकारले आवश्यक रकम नछुट्याइदिँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।

    प्रत्येक घरधुरीबाट मासिक एक सय रुपियाँका दरले शुल्क उठाउने गरे पनि उपकरण खरिदका लागि रकम जमा हुन नसकेको उहाँले बताउनुभयो । यस आयोजनाको बिजुली उत्पादन क्षमता साढे नौ किलोवाट छ तर गाउँमा अहिले करिब एक किलोवाट विद्युत् मात्रै खपत हुन सकेको छ । बिजुली बलेसँगै गाउँमा मिल पनि सञ्चालन गरिएको थियो । हाल घट्ट निर्माण गरिएको उहाँले बताउनुभयो । चुँडी गाउँको केही पर पत्रम र माथि बलकाँडे गाउँ छन् । योजनाका पोल र तारहरू खपत नभई बचेका पनि छन् । यहाँको बिजुली अन्य गाउँमा लैजाने कुनै योजना पनि नबनाइएकाले उत्पादन हुने बिजुली खेर गइरहेको उहाँको भनाइ छ । 

    नेपाल–भारतको सीमा नदी महाकाली नदीको केही माथि पर्ने दुर्गम चुँडीगाउँमा बिजुलीसँगै मिल सञ्चालन आएपछि स्थानीय कष्टकर जीवनयापनको समस्याबाट मुक्त भएका थिए । तर अहिले फेरि जनजीवन कष्टकर बन्न पुगेको चमा गाड सिँचाइ तथा लघु जल विद्युत् योजनाका अध्यक्ष कालुसिंह बोहराले बताउनुभयो । 

    नेपाल सरकार, भागेश्वर गाउँपालिका, अक्सफाम नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आर्थिक, प्राविधिक सहयोगमा सो आयोजना निर्माण गरिएको थियो । चार हजार छ सय मिटर टाढाबाट कुलो बनाएर गाउँमा पानी पुगेपछि सो आयोजना सञ्चालन गरिएको अध्यक्ष बोहोराले बताउनुभयो । विद्युत् गृहभन्दा तल गाउँ र खेतबारी रहेको छ । विद्युत् गृहबाट निस्केको पानी पिउन, सिँचाइ गर्न मिल्ने भएकाले पानीको बहुउपयोग भइरहेको उहाँले बताउनुभयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend