२०८३ भाद्र २८ गते आइतवार

images

अजिरकोटमा स्याउ खेतीको सफल परीक्षणले स्थानीय खुशी, ट्राउट माछा पालनको पनि परीक्षण गर्ने तयारी

अजिरकोटमा स्याउ खेतीको सफल परीक्षणले स्थानीय खुशी, ट्राउट माछा पालनको पनि परीक्षण गर्ने तयारी

सहर्ष न्युज
मंगलवार, जेठ २१ २०८२
सहर्ष न्युज
मंगलवार, जेठ २१ २०८२
  • सुष्मा सापकोटा, अजिरकोट (गोरखा) । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाले स्याउ खेतीको सफल परीक्षणले स्थानीय उत्साहित भएका छन् । स्याउ खेतीको सफल परीक्षण पश्चात आगामी वर्ष नीति तथा कार्यक्रममा समावेश गरिने भएको उक्त गाउँपालिकाले जानकारी दिएको छ ।

    गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले परीक्षण सफल भएको र आगामी वर्ष नीति तथा कार्यक्रममा समावेश गरिने बताए ।

    पालिकाले ट्राउट माछा पालन पनि सुरु गरेको र विस्तार गर्ने योजना रहेको उनको भनाई छ ।

    सफल परीक्षणसँगै अजिरकोट गाउँपालिकामा व्यवसायिक स्याउ खेतीको सम्भावना देखिएको छ ।

    ‘२०७९ मा हामीले परिक्षण स्वरुप करिव तीन हजार विरुवा रोपेका थियौ,’ उनले भने, ‘अहिले उत्पादन राम्रै देखियो ।’ फुजी, गोल्डेन डेलिसियस र गाला जातको स्याउ परीक्षण गरिएको उनले जानकारी दिए ।

    उनका अनुसार वडा नम्वर २ सिरानडाँडामा स्याउ खेतीको परीक्षण गरिएको हो । तीन वटा कृषि फर्म छनोट गरेर ५० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराइएको थियो ।

    ‘यो ठाउँ करिव २२ सय मिटरको उचाइमा पर्छ, यो उचाइ अनि यहाँको हावापानीमा स्याउ हुन्छ की हुदैन भनेर हामीले प्राविधिकको सल्लाह सुझाव पनि लिएका थियौ, त्यही अनुसार परीक्षण स्वरुप खेती गर्‍यौ, उत्पादन राम्रै देखियो,’ उनले भने ।

    आगामी बर्ष नीति तथा कार्यक्रममै समावेश गरी स्याउ खेतीलाई प्रवद्र्धन गरिने उनले बताए । वडा नम्वर १ र २ मा खेती बिस्तार गरेर स्याउको पकेट क्षेत्र बनाउने योजना समेत रहेको उनले जानकारी दिए । स्याउ खेतीलाई कृषि पर्यटनसँग जोड्ने लक्ष्य समेत रहेको उनको भनाइ छ ।

    पालिकामा ट्राउट माछा पालन पनि सुरु गरिएको छ । परीक्षण स्वरुप वडा नम्वर २ देउरालीमा ट्राउट माछा पालन सुरु गरिएको पालिकाले जनाएको छ । ‘कृषि फर्म मार्फत माछा पालन सुरु गरिएको हो,’ पालिका अध्यक्ष देवकोटाले भने, ‘पालिकाले त्यसमा ५० प्रतिशत अनुदान दिएको छ ।’

    अहिले चार हजार भुरा माछा हालिएको छ । क्रमश खिम्पु र वलाङमा पनि ट्राउट माछा पालन विस्तार गरिने पालिकाको योजना छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend