सहर्ष न्युज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तीन जनाको नाम सिफारिस भएको छ ।
तीन जना मध्ये पहिलो नम्बरमा भक्तपुरका गोपीकृष्ण न्यौपानेले नाम निकाल्न सफल भएका छन् । विभिन्न आर्थिक तथा सार्वजानिक संस्थान समेतको सफल व्यवस्थापकीय नेतृत्व प्रदान गरिसकेका न्यौपाने आर्थिक क्षेत्रमा ‘मल्टि ट्यालेन्ट’ क्षमताका व्यक्तिको रुपमा परिचित छन् ।
प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले भक्तपुरका न्यौपानेसँगै तनहुँका डिल्लीराम लम्साल र धादिङका रमेश आचार्यको नाम अन्तिम निर्णयको लागि क्याबिनेटमा पठाएको छ ।
लामो समयदेखि नेतृत्वविहीन हुँदा निकै नै अस्तव्यस्त बनेको सो कम्पनीले अब भने सिइओ पाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन २२ गते अन्तिम निर्णयका लागी मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेसँगै उक्त कम्पनीले व्यवस्थापकीय नेतृत्व पाउने लगभग निश्चित जस्तै भएको हो ।
उक्त कम्पनीमा सिइओ बन्नको लागि दरखास्त आव्हान भएकोमा १८ जनाले आवेदन दिएका थिए । नियुक्ति सम्बन्धी निर्देशिकाको अधीनमा रही कुल १०० पूर्णाङ्कको परीक्षामा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गर्दै मन्त्रीपरिषद्को बैठकमा निर्णयको लागि प्रस्ताव पठाएको जानकारी दिएको हो ।
सिफारिसको दोस्रो नम्बरमा परेका लम्साल खाद्य व्यवस्था तथा व्यापार कम्पनीकै नायब महाप्रन्धक तथा हाल निमित्त प्रमुख कार्यकारी अधिकृत हुन् । सम्बन्धित कार्यालयमा उनको अनुभव भए पनि त्यहीँको बेथितिसँग अन्तरघुलन भएका व्यक्तिका रूपमा खाद्य कम्पनीमा उनी आलोचित पात्र भएको बताइन्छ । लम्सालबाट नयाँपन आउने सम्भावना नरहेको खाद्यकै उच्च स्रोतको दाबी छ । उनलाई खाद्यका अधिकांश कर्मचारीले समेत नटेर्ने स्रोत बताउँछ । खाद्य उच्च स्रोतले उनीबाट विगत कै निरन्तरता मात्र हुने बताएका छन् । कम्पनीको उद्देश्य र लक्ष्य पुरा गर्ने हो भने बहुप्रतिभा र अतिरिक्त क्षमताका व्यक्तिले नेतृत्व गर्नुपर्ने कर्मचारीहरुको धारणा रहेको छ । नयाँ व्यक्ति आएर कम्पनीलाई नयाँ ढंगबाट अगाडी बढाउनेमा अधिकांश कर्मचारीहरु आशावादी रहेका छन् ।
सिफारिसको तेस्रो नम्बरमा परेका आचार्य धादिङका हुन् । उनी आर्थिक क्षेत्रका जानकार युवा हुन् । उनीसँग नवीन सोच र दृष्टिकोण देखिएकोले पनि अन्तिम तीनमा उनलाई राखिएको सिफारिस समितिका एक सदस्यले जानकारी दिए । आचार्यको अनुभव उद्योग, वाणिज्य महासङ्घमा भएपनि सार्वजनिक संस्था सञ्चालन गर्ने विधि र पद्धतिमा खासै जानकार नरहेको नदेखिएको ती सदस्यले बताए ।
लामो समयदेखि खाद्य संस्थामा कार्यरत कर्मचारीलाई प्रोत्साहित गर्दै व्यवस्थापकीय नेतृत्वमा यिनलाई केही कठिन हुने खाद्यको कर्मचारीहरु बताउँछन् । सार्वजनिक खरिद ऐन, नियम, संस्थाको विनियमावली बमोजिम कार्य गर्न उनको अनुभवले नभ्याउने जानकारको भनाई छ ।
यसरी हेर्दा विभिन्न कुराहरुलाई आधार मानेर १८ मध्ये तीन जनालाई छनौट गरिएको देखिन्छ । समितिले सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्ति, निजी तथा सार्वजानिक संस्थानको नेतृत्व क्षमता भएका रणनीतिक व्यक्ति र नविन सोचयुक्त युवा आदिलाई छनौट गरेको देखिन्छ ।
पहिलो नम्बरमा परेका न्यौपाने को हुन् ?

समितिले छनौट गरी पहिलो नम्बरमा सिफारिस गरेका न्यौपाने निजी र सार्वजानिक क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन् । आर्थिक क्षेत्रका विभिन्न विषयमा विशेष दख्खल भएका न्यौपानेलाई आर्थिक क्षेत्रले ‘मल्टि ट्यालन्टेट’ व्यक्तिको रुपमा चिन्छ ।
एमबिए तथा एलएलएम गरेका न्यौपानेसँग २४ वर्ष तत्कालिन चौधरी ग्रुपमा महाप्रबन्धकको रूपमा काम गरेको अनुभव छ । त्यस्तै उनी माछापुच्छ्रे बैंकको सञ्चालकका रूपमा एक दशक काम गरिसकेका छन् ।
सार्वजनिक संस्थानकै नेतृत्वकर्ताका रूपमा न्यौपानेले उदयपुर सिमेन्टको महाप्रबन्धकको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालिसकेका छन् । उनको नेतृत्वमा लामो समयदेखि घाटामा रहेको सो सिमेन्ट उद्योगले नाफा आर्जन गर्न थालेको थियो भने वर्षौँसम्म हुन नसकेको साधारण सभा र लेखा परिक्षणकोकाम समेत सम्पन्न गरेर अढाई वर्षमा बिदा भएका थिए ।
त्यसो त उनी पेसाले ‘ख’ वर्गको लेखा परीक्षक र अधिवक्ता पनि हुन् । उनीसँग अस्पताल, शिक्षण संस्था लगायत एक दर्जन सामाजिक संस्थामा काम गरेको अनुभव पनि छ । न्यौपानेको यही अनुभव, क्षमता र दक्षताको आधारमा पनि समितिले पहिलो नम्बरमा सिफारिस गरेको हुनसक्ने खाद्यका कर्मचारीको आँकलन छ ।
अबको ४ वर्षको लागि न्यौपानेलाई नै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा मन्त्रिपरिषद्ले छान्न सक्ने सम्भावना प्रबल रहेको समेत खाद्यका उच्चतहका कर्मचारीको अनुमान छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साबिक खाद्य संस्था र नेशनल ट्रेडिङ्ग लिमिटेड मर्ज भई बनेको कम्पनी हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो कम्पनीले विशेषगरी मुलुकका दुर्गम क्षेत्रहरूमा खाद्यान्न आपूर्ति व्यवस्थापन गर्ने गरेको छ । सहरी क्षेत्रमा समेत खाद्यान्न व्यवस्था गरिरहेको यस कम्पनीले नेशनल ट्रेडिङ गाभिइसकेपछि व्यापार गर्ने अवसर पनि पाएको थियो । तर, नेतृत्व क्षमता अभावले यसले आफ्नो उद्देश्य र लक्ष्य बमोजिम कार्य गर्न सकिरहेको देखिँदैन । अवको आउने नेतृत्वले खाद्यान्न आपूर्तिसँगै कम्पनीको उद्देश्य र लक्ष्य बमोजिमका कार्य गर्नेमा व्यवस्थापन तहमा रहेका कर्मचारीहरु विश्वस्त छन् ।
