२०८३ भाद्र २८ गते आइतवार

images

‘बालेन महानगर’को रुमको छतमा टुकुचाको जस्तै ‘भ्वाङै भ्वाङ’, पैसा नतिरेपछि सप्लायर्सले निकाल्यो ‘एयरकन्डिसन’

‘बालेन महानगर’को रुमको छतमा टुकुचाको जस्तै ‘भ्वाङै भ्वाङ’, पैसा नतिरेपछि सप्लायर्सले निकाल्यो ‘एयरकन्डिसन’

सहर्ष न्युज
सोमवार, बैशाख २२ २०८२
सहर्ष न्युज
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । पैसा नतिरेपछि काठमाडौं महानगरपालिकामा जडान गरिएको एयरकन्डिसन निकालिएको छ । दुई बर्षसम्म पनि भुक्तानी नपाएपछि सप्लायर्स कम्पनीले काठमाडौं महानगरपालिकामा जडान गरेको एयरकन्डिसन सप्लायर्स कम्पनीले निकालिदिएको हो ।

    सप्लायर्स कम्पनी यादव रेफ्रिरिजेरेशन प्रालिले महानगरका अधिकांश सबै विभागीय प्रमुखहरुको रुमबाट एयरकन्डिसन निकालेको जानकारी दिएको छ ।

    यादव रेफ्रिजेरेशनका सञ्चालक युगल यादवका अनुसार सबैको रुमबाट धमाधम एयरकन्डिसन निकाल्न थालिएको छ । ती एयरकन्डिसन क्रमशः निकाल्दै जाने उनको भनाई छ ।

    महानगरमा सप्लाई गरेको उक्त एयरकन्डिसनको मूल्य ३० लाख बराबरको रहेको उनले बताए । सञ्चालक यादव अनुसार उक्त एयरकन्डिसन दुई बर्ष अघि जोडिएको थियो ।

    ‘भुक्तानीको लागि धेरै प्रयास गरियो तर भुक्तानी लिन सकिएन् ।’ उनले भने– ‘भुक्तानी नै नपाउने भएपछि अन्ततः जडान गरेको ठाउँबाट एयरकन्डिसन निकालेरै लैजाने निर्णय गरे ।’ थोरै प्रतिशत मात्रै नाफा खाएर सेवा गर्ने गरेको आफूलाई यसबाट ठूलो घाटा लागेको यादवले सुनाए ।

    देशकै ठूलो महानगरको महत्वपूर्ण व्यक्तिहरुको रुममा जोडिएको एयरकन्डिसन निकाल्दा नराम्रो सन्देश जान्छ भनेर अन्तिम समयसम्म छलफल गरेको उनले बताए । सञ्चालक यादवले जडान गरिएको ठाउँबाट एयरकन्डिसन निकाल्नु अघि महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डे, सम्बन्धित विभागीय प्रमुखहरु समेतसँग छलफल समेत गरे । तर सो छलफलले पनि पैसा दिने निष्कर्ष ननिकाले पछि बाध्य भएर आफ्नो सामान निकाल्नु परेको उनको भनाई छ ।

    सप्लायर्स कम्पनीले ९ जना प्राविधिकहरु लगाएर जडान गरेको ठाउँबाट एयरकन्डिसन निकालिरहेको छ । एयर कन्डिसन निकालिएको ठाउँमा मेयर बालेनले टुकुचामा पारेको ‘भ्वाङ’ जस्तै देखिएको एक कर्मचारीले बताए ।

    प्राविधिकहरुको अभावमा केही एयरकन्डिसन अझै निकाल्न बाँकी रहेको सप्लायर्स कम्पनीका सञ्चालक यादवले बताए । निकालिएको एयरकन्डिसन राजश्व विभागको बाहिर थुपारेर राखिएको छ । सबै एयरकन्डिसन निकालिसकेपछि उठाउने बेलामा पत्रकार सम्मेलन गरेर मात्र लिएर जाने सप्लायर्स यादवको भनाई छ ।

    काठमाडौंको टुकुचामा ‘भ्वाङ’ पारिदिने मेयर बालेनको कार्यालयका रुमको छतमा अहिले अरुले ‘भ्वाङ’ पारिदिएको छ । टुकुचामा परेको भ्वाङ जस्तै देखिने महानगरका रुमहरुको छतमा भ्वाङ पर्नबाट बालेनले बचाउन सकेनन् । एयरकन्डिसन निकाल्ने प्राविधिकहरुको टाइम भएपछि मेयर बालेनको सचिवालय, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलगायत सबैको रुममा भ्वाङ पारेरै निकाल्ने सप्लायर्स कम्पनीले बतायो । महानगरका महत्वपूर्ण पदमा रहेकाहरुको रुमको छतमा भ्वाङ परिरहँदा मेयर बालेन भने पोखरामा घुमघाममा थिए ।

    महानगरमा हुने गरेका कुनै पनि समस्यामा मेयर बालेनले संयोजन र व्यवस्थापन गर्न नसकेको उच्च पदका कर्मचारीहरु बताउँछन् । प्रमुख प्रशासकीय अधिकृतको विवादलाई लिएर लामो समय भोकभोकै रहेका कर्मचारीलाई तलब खुवाउन समेत उनी असफल भएको ती कर्मचारीको आरोप छ । समस्या सिर्जना गरिदिने तर समस्या समाधानको निकास निकाल्न नसक्ने मेयरको नाम नै ‘बालेन’ भन्छन् कर्मचारीहरू ।

    ८ अर्ब पैसा चलाउने महानगरले त्यति सानो रकमको निकास ननिकाल्दा महानगरले यति ठूलो बेइज्जत सहनु परेको ती कर्मचारीको भनाई छ ।

    किन पैसाको व्यवस्थापन गर्न सकेन तल्लो तहका कर्मचारीहरु आश्चर्यमा छन् ।

    सिष्टमबाट जडान नगरिएकाले पैसा निकासामा समस्या परेको महानगरले जानकारी दिएको छ ।

    सप्लायर्स कम्पनीले माग फारमका आधारमा उक्त एयरकन्डिसन जडान गरेको बतायो । प्रक्रिया पुरा नगरी जडान गरेकैले रकम निकासामा समस्या भएको महानगरका एक विभागीय प्रमुख बताउँछन् ।

    अर्को कम्पनीको चाँही कसरी भयो भुक्तानी ?

    महानगरमा यसरी माग फारमकै भरमा सामान सप्लाई गर्ने युगल यादव मात्रै होइनन् । महानगरमा उनी जस्तै अन्य कम्पनीले पनि माग फारमकै आधारमा सामान सप्लाई गर्ने गरेका छन् । उस्तै प्रकृतिको कारोबारमा केहीले भने भुक्तानी लिएर गए । तर यादवको भने किन भुक्तानी हुन सकेन ? प्रश्न उठेको छ ।

    महानगरमा ठूला बडा भनाउँदालाई चाकडी गर्न सके र ‘सेटिङ’ मिलाउन सके युगल यादवलाई लगाइएको सिष्टम ‘ब्रेक’ हुन सक्ने कर्मचारीहरु बताउँछन् । त्यही सुत्र प्रयोग गरेर कुन्दन सिंह लगायतका सप्लायर्सले भुक्तानी लिएर गएको एक कर्मचारीले दाबी गरेका छन् । उनले महानगरमा फर्निचर, स्टेशनरीलगायत करोड बढीको कारोबार गर्ने गरेको ती कर्मचारी बताउँछन् ।

    सप्लायर्स यादवको जस्तै माग फारम भरेर सप्लाई गरेको फर्निचरको ३२ लाख रुपैयाँ बराबर भुक्तानी सिंहले लगिसकेको ती कर्मचारीले दाबी गरेका छन् । यदी उस्तै विषयमा कुन्दन सिंहले भुक्तानी लिएर जाने र युगल यादवले चाँही जडान गरेको सामान उठाएर लैजानु पर्ने हो भने  महानगरको आर्थिक अनुशासन र संस्थागत सुशासनमा गम्भीर प्रश्न खडा हुन सक्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend