सुष्मा सापकोटा, गोरखा । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा रहेको भच्चेक–चनौटे–मुच्चोक–भच्चेक सडक खण्ड अब कालोपत्रे हुने भएको छ।
विभिन्न आरोह अवरोह खेपेको यो सडकले गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएसँगै सडकको कालोपत्रे प्रक्रिया अगाडि बढेसँगै बन्ने पक्का भएको हो । हाल सडक निर्माणका लागि ठेक्का प्रक्रिया सकिएर निर्माण समेत सुरु गरिसकिएको छ । यससँगै अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटाको चुनावी घोषणामा उल्लेखित महत्त्वपूर्ण पूर्वाधार योजनाको कार्यान्वयन प्रारम्भ भएको हो ।
अध्यक्ष देवकोटाले २०७९ सालको स्थानीय तह निर्वाचनका क्रममा भव्य रूपमा आयोजित जनसभाहरूमा यो सडक निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका थिए । त्यसताका उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै भनेका थिए, ‘भौतिक पूर्वाधार विकास बिना समृद्धि सम्भव छैन । चनौटे–मुच्चोक–भच्चेक सडक मेरो कार्यकालमै कालोपत्रे बनाउने प्रतिबद्धता लिएको छु।’ उनी चुनाव जितेपछि पनि विभिन्न मञ्च र बैठकहरूमा यो विषयलाई प्राथमिकतामा राख्दै यो सडक निर्माणका लागि आवाजलाई बुलन्द पार्दै आएका थिए । सो सडक निर्माण सुरुसँगै अहिले आएर सो प्रतिबद्धता व्यवहारमा देखिन थालेको छ । यसले स्थानीयवासीलाई समेत उत्साह थपेको छ ।
२०६३/०६४ मा ट्र्याक खनिएको यो सडक (चनौटेदेखि भच्चेकसम्म)को झन्डै १४ किलोमिटर लम्बाइको रहेको छ भने सडकको चौडाइ ४.२५ मिटर रहनेछ। यो सडक कालोपत्रे सुरु भएसँगै अजिरकोटका बासिन्दाले दैनिक आवतजावतमा सहजता अनुभव गर्नेछन् । त्यस्तै स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई बजारसम्म पुर्याउन पनि सहज हुनेछ ।
यो सडक कालोपत्रे गर्न अनुमानित लागत ७९ करोड रुपैयाँ रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गणेश सुवेदीले जानकारी दिएका छन् ।
निर्माण कम्पनी छनोट प्रक्रिया सकिएलगतै यसको निर्माण तीव्र गतिमा अघि बढाइएको पनि सो कार्यालयले जानकारी दिएको छ ।
निर्माण कम्पनीले सम्झौता सुरु भएको मितिले २४ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने छ ।
यो सडक खण्ड कालोपत्रे भएपछि भच्चेक बजार पुग्ने यो दोस्रो कालोपत्रे सडक हुनेछ । यसअघि चोरकाटे–छोप्राक–चित्रेपोखरी हुँदै जाने सडक खण्ड कालोपत्रे भइसकेको छ । अब चनौटे–भच्चेक सडक कालोपत्रे भएपछि अजिरकोट गाउँपालिकाभित्रका बस्तीहरू एकआपसमा र बजारसँग सडक सञ्जालमार्फत अझ सहजरूपमा जोडिने भएका छन् । यसले स्थानीयलाई बजारसम्म जोड्न र गाउँ–बजारका संभावनालाई समेत सदुपयोग गर्न सघाउँ पुग्ने छ ।
स्थानीय पूर्वाधार निर्माण र रोजगारी सिर्जनालाई आफ्नो कार्यकालको मुख्य एजेन्डा बनाएको अध्यक्ष देवकोटाले बताए । ‘सडकले गाउँमा विकास ल्याउँछ, रोजगारी ल्याउँछ र आत्मनिर्भरता बढाउँछ,’ उनले भने, ‘हामी जनताको हितका लागि नीतिगत निर्णय र व्यवहारिक कार्यान्वयन दुवैमा गम्भीर छौं ।’
स्थानीय बासिन्दाहरूले सडक निर्माणमा देखिएको गति र प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएका छन् । वर्षौँदेखि हिलो र धुलोका बीच यात्रा गर्न बाध्य उनीहरू अब विकासको नयाँ अध्याय सुरु हुने आशामा छन् । ‘२०६३ मा ट्याक खनिएदेखि सडक कालोपत्रे हुने सपना देखिरहेका थियौँ,’ एक स्थानीय भन्छन्, ‘अब बल्ल त्यो सपना साकार हुने भयो।’
गाउँपालिकाले पछिल्ला समय पूर्वाधार विकासमा सक्रियता देखाउँदै आएको छ । योसँगै गाउँपालिका हरेक वडा कार्यालय जोड्ने सडक खण्ड अब पिच हुनेछ । वडा न १ र ३ को पिच हुने क्रममा छ भने वडा न २ जोड्ने सडक स्तरोन्नति भइरहेको छ ।
यो सडकको २०६३/६४ को अन्तरिम सरकारको पालामा ट्र्याक खनिएको थियो ।
